घरबाट निस्कने बेला सुनको औँठी हरायो – युवराज चौलागाईं, गायक

संगीतमा केही गर्ने सोचले काठमाडौं आउन लागेका युवराज चौलागाईको हिड्ने बेला सुनको औँठी हरायो । हिड्ने बेला सुनको औँठी हराउनुलाई शुभ मानिंदैन । त्यो घरमा थाहा भयो भने घरमा हिंड्न नदिने डरले युवराजले त्यो कुरा आमा बाबालाई भनेनन् । डराइ- डराइ उनी काठमाडौंसम्म आइपुगे । हिड्ने बेला हराएको औठीले न उनको त्यस दिनको यात्रालाई असर गर्यो न काठमाडौं आएपछिको सांगीतिक करियरमा नै ।

चितवनमा जन्मिएका युवराज चौलागाई अहिलेका चर्चित गायकमा पर्छन् । उनको परिवार नै सांगीतिक थियो । घरमा सबैले संगीतलाई एकदमै माया गर्थे । घरमा उनका दाई, आमाले गीत गुनगुनाउँथे । त्यही भएर उनी पनि गीत गाइरहन्थे ।
गीत गाउँथे, स्वर पनि राम्रो नै थियो । तर उनमा गायक बन्ने सोच अलिकति पनि थिएन । उनमा एक तेकन्दो खेलाडी बनेर देशलाई चिनाउने लक्ष्य थियो । उनी त्यसमा लागेका पनि थिए । उनी तेकन्दोमा ब्ल्याक बेल्ट प्राप्त खेलाडी हुन् ।

आफ्नो गायकीको बारेमा आफैँ अनविज्ञ थिए युवराज । जब उनी विद्यालयका कार्यक्रमहरुमा गीत गाउन थाले, धेरैले उनको स्वरको प्रशंसा गर्न थाले । साथीहरु तथा शिक्षकहरु पनि उनको गायकीमा मन्त्रमुग्ध हुन्थे । ‘मैले गीत गाउदा सरहरु पनि एकदमै राम्रो मानेर सुन्नु हुन्थ्यो’, युवराज सम्झिन्छन्, ‘पछी साथीहरु र सरहरूकै प्रशंसा र प्रेरणाबाट गायक बन्छु भन्ने सोच आयो ।’

गायक बन्ने सोच सहित काठमाडौं छिरेका युवराजलाई संगीतको बारेमा केही ज्ञान थिएन् । र संगीत सिक्नु पर्छ भन्ने पनि थिएन । बरु उनमा एक ठुलो भ्रम थियो, ‘सबैले मैले गाएको राम्रो भनेकै छन् । अब त सिधा काठमाडौं जाने हो, गीत गाएर हिरो बन्ने हो ।’

काठमाडौं उनको लागि बिरानो शहर थियो । उनले कोही कसैलाई चिनेका थिएनन् । गायक बन्न आएका उनले न कोही संगीतकार चिनेका थिए न कुनै रेकर्डिङ स्टुडियो नै । उनलाई अग्रजहरु भेट्न र स्टुडियो खोज्न निकै गाह्रो पर्यो । त्यो कुराले पनि उनमा डर पैदा भयो, ‘ला अब म कसरी गायक बन्ने होला ।’

पछी उनले कोही संगीतकारहरुको नम्बर पाए । तर उनीहरुलाई भेट्न एकदमै गाह्रो भयो । उनी सम्झिन्छन्, ‘त्यो बेला मोबाइल फोन थिएन । ल्यान्ड लाइनबाट फोन गर्नु पर्ने । कहिले कहीँ टाइमिङ नमिल्दा बढो दु:ख पाइन्थ्यो ।’

जब उनी काठमाडौं आएर अग्रजहरुलाई भेट्न थाले र स्टुडियोहरुमा पुग्न थाले, उनले आफुलाई जिरो भएको महशुस गरे । ‘जब अग्रजहरुले गाएको हेर्दा म आफुले आफुलाई कमजोर देखेँ ।’ उनले अग्रजहरुसँग केही सल्लाह पनि लिए । ‘उहाँहरुले भन्नु भएपछि बल्ल थाहा भयो कि संगीत भनेको भावसगर रहेछ । मैले सिक्न जरुरी छ’, युवराजमा संगीत सिक्ने जोश पलाउँछ ।

उनले श्याम सुन्दर आचार्य र राम सिटौलाको संगीत विद्यालयमा गएर संगीत सिके । ‘मैले धेरै ठाउँमा गएर संगीत सिकेको छु तर दिगो रुपमा चाहिँ श्यामसुन्दर सर र राम सरको मा सिकेँ ।’ युवराजले त्यहाँ लगभग ५ वर्ष संगीत सिकेका छन् ।

५ वर्ष संगीत सिकेपछि बल्ल उनले गीत निकाल्ने निधो गरे । ‘साथीहरु र गुरुले नै गीत रेकर्ड गर्नु पर्छ अब भन्नु भएसी मात्र गीत रेकर्ड गराउने सोच आयो’, उनले विगत सम्झिए । युवराजले आफ्नो पहिलो गीतको रुपमा ‘मेरो मायालाई तिमीले बुझ्न सकिनौ’ तयार गरे । यस गीत उनका गुरु श्याम सुन्दर आचार्य र राम सिटौलाले नै तयार गरिदिएका थिए ।

म्युजिक नेटवर्क नामक रेकर्डिङ स्टुडियोमा गएर उनले गीत रेकर्ड गराए । उनले त्यहाँ गीत रेकर्ड गराउदै गर्दा पुरानो स्रष्टाहरु त्यहाँ उपस्थित थिए । धेरैले उनको स्वरलाई प्रशंसा गरेका थिए । ‘धेरैले मेरो स्वरलाई मन पराउनु भएको थियो । यो भाइले केही गर्छ भन्ने हौसला उहाँहरु बाट पनि पाए’, युवराज दंग पर्छन् ।

युवराजमा खुसीको सिमा थिएन । उनी उक्त गीतको सिडी बोकेर धेरै एफएम स्टेशन पुगे । उनी भन्छन्, ‘गीत रेकर्ड भएपछि बल्ल आफु हिरो हुने बेला भयो जस्तो लागेको थियो ।’ गीत हिट हुने कुरामा विश्वस्त पनि थिए उनी । उक्त गीत एफएममा बज्यो । सबैले उक्त गीतको प्रशंसा नै गरे ।

युवराजलाई दोश्रो गीत निकाल्न लामो समय लाग्यो । त्यो लामो समयमा उनले कोरसमा गाउने काम पनि गरे । युवराज लगायतको एक टिम थियो जुन कोरसको लागी एकदमै चर्चित थियो । ‘आफु काठमाडौंको ठाउँमा टिक्नको लागी पनि कोरस गाउने गर्थे’, युवराज सम्झिन्छन्, ‘तर पछि त हाम्रो टिमले दिनमा नै ४-५ वटा सम्म कोरस गायौं ।’

उनले धेरै अग्रजहरुको कम्पोजिसन लिएर केही गीत तयार गरेका थिए । गीत रेकर्ड गरेर एल्बम निकाल्नको लागि बिभिन्न म्युजिक कम्पनिहरुमा गएँ । उनी भन्छन्, ‘त्यो बेलाको सबै भन्दा पीडाको कुरा भनेको नै एल्बम निकाल्नु थियो । मेरो एल्बम निकाल्न पनि म्युजिक कम्पनिले डेढ वर्ष लगाएको छ ।’ उनीसँग धेरै पटक म्युजिक कम्पनि धाएको अनुभव छ । उनको पहिलो एल्बमका रुपमा ‘यु फिल’ तयार भएको थियो ।

उक्त एल्वममा समावेश गीत साझ पख एकदमै हिट भयो । त्यस पश्चात युवराजले धेरै गीत गाए । उनले गएको एल्बमका गीतहरुमा ‘साझ पख’, ‘टुङ्नाको धुनमा’ (रिमेक), ‘लैजा चरी मेरो संदेश’, ‘हरेक शब्दको अर्थ हुन्छ’ लगायत एकदमै हिट छन् ।

युवराजलाई पार्श्व संगीतमा पनि एकदमै रुची थियो । उनले धेरै फिल्मको गीत गएका पनि थिए । तर कुनै फिल्मबाट पनि उनले सफलता पाउन भने सकेका थिएनन ।

उनले दिनेश राउतसँगको चिनजानबाट फिल्म नोबेम्बर रेनमा एक गीत गाउने अवसर पाए । उनले नोबेम्बर रेन फिल्ममा गएको ‘तिमीलाई के भनु’ सुपर हिट भइदियो । जहाँबाट उनको करिअर नै कायापलट भयो । ‘गीत हिट हुन्छ भन्ने थिएन । ठिकै होला जस्तो लगेर गीत गाएको थिए’, खुसी हुँदै युवराज भन्छन्, ‘पछि त यस गीतले कायापलट गरिदियो ।’

त्यस यता युवराजले धेरै सफल गीतहरु गाए । उनले फिल्ममा गाएको ‘तिम्रो डोला डोला हातमा’, ‘हारे हारे’, ‘छ एकान छ’, ‘यो मन रमाउदै रमाउदै गयो’ लगायत हिट छन् ।

युवराज आफु यो सफलतामा पुग्नुको कारण आफ्नो मेहनत, परिवारको साथ, साथीहरुको हौसला भएको बताउँछन् ।