फिल्मले समग्र देशको कथा समेटेको छ – टिम ‘कथा काठमाडौँ’

यस साताको शुक्रबारबाट फिल्म ‘कथा काठमाडौं’ प्रदर्शनमा आउँदैछ । फिल्मको प्रचार सामग्री गीत र ट्रेलर सार्वजनिक भएदेखि नै विवादमा मुछिएको यस फिल्मको रिलिज मिति नजिकिदै गर्दा आफ्नो प्रचारलाई पनि तिव्रता दिइरहेको छ । गीत र ट्रेलरमा देखाइएको प्रियंका कार्की र प्रमोद अग्रहरीको ‘इन्टिमेट सिन’ विवादको मुख्य विषय बनेको थियो ।

हरेक दिन काठमाडौंमा हुने विभिन्न तीन कथाहरुलाई प्रस्तुत गरिएको फिल्ममा प्रियंका र प्रमोदसँगै आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी र प्रेक्षा अधिकारीको मुख्य भुमिका रहेको छ । संगीता श्रेष्ठको निर्देशनमा बनेको यस फिल्मले काठमाडौंमा हुने लभ, लस्ट र लाइफको कथा बोकेको छ ।

निर्देशक श्रेष्ठका अनुसार काठमाडौंमा भइरहेको र सबैले भोगेको कथा हो ‘कथा काठमाडौं’ । उनी भन्छिन्, ‘म काठमाडौं आएदेखि नै मैले भोगेको, देखेको वा सुनेको कथालाई नै पर्दामा उतार्न खोजेको हुँ । यस फिल्मले काठमाडौं मात्र नभएर समग्र देशको नै कथा समेटेको छ ।’

गीत र ट्रेलरमा यति धेरै नकारात्मक प्रतिक्रिया आउनु आफुले उठान गरेको कथालाई नबुझिएको उनको बुझाई छ । ‘हामीले हाम्रो कथा प्रस्तुत गरेका छौ । यसमा नराम्रो भन्नु पर्ने के छ र ?’ उनका अनुसार पुर्ण फिल्म हेरेपछि मात्र गीत र ट्रेलरमा किन त्यस्तो दृश्य राखियो भन्ने बुझ्न सकिन्छ ।

फिल्मको गीत र ट्रेलरमा आएको कमेन्ट आशातित भएको विवादको केन्द्रिय पात्र तथा नायिका प्रियंका कार्की बताउँछिन् । ‘यस्तो कमेन्ट आउँछ भन्ने सुरुमा नै थाहा थियो । आयो खुसी लाग्यो ।’ फिल्ममा आफुले निर्वाह गरेको भुमिका आफ्नो लागि निकै चुनैतीपूर्ण भएको उनको तर्क छ । ‘त्यो रिलको पात्र मसँग अलिकति पनि मेल खाँदैन’, उनी थप्छिन्, ‘त्यहाँ महिला हिंसा सहेर बसेकी महिला पात्र छिन् । तर रियलमा मलाई कसले त्यस्तो हिम्मत गर्न सक्छ र ?’
फिल्ममा आएको प्रतिक्रियाले आफ्नो रियल लाइफमा कुनै असर नगर्ने उनको भनाई छ । ‘यो मेरो काम हो मैले गर्नु पर्ने हुन्छ । त्यसैले पनि मेरो कामले वास्तविक जीवनमा कुनै असर गर्दैन’, उनले भनिन् ।

नायिका कार्की फिल्मको प्रचारमा खासै हिडेकी छैनन् । आफुले दिएको ‘इन्टिमेट सिन’का कारण फिल्मको प्रचारमा नहिडेको धेरै आरोप लागिरहेको थियो । ‘नहिड्ने हाम्रो पुर्व योजना हो । हामी रिलिजको केही दिन अघि मात्र प्रचारमा हिड्ने योजना गरेका थियौं’, उक्त कुरालाई नकार्दै प्रियंका भन्छिन्, ‘म उक्त दृश्यका कारण लजाएर प्रचारमा नहिडेको हैन ।’

त्यस्तै, नायक प्रमोद अग्रहरी फिल्मको पात्र एकदमै मन परेकाले यस फिल्ममा काम गरेको तर्क राख्छन् । ‘फिल्ममा मैले निर्वाह गरेको पात्र आजसम्म गरेको भन्दा निकै भिन्न छ’, उनी थप्छन्, ‘फिल्मको पात्र समाजको वास्तविक पात्र भएका कारण पनि काम गर्न उत्साहित भएको थिए ।’

यस फिल्मबाट प्रमोदको निकै चर्चा पनि भएको छ । कारण प्रियंकासँगको ‘इन्टिमेट सिन’ । कथा काठमाडौंले आफ्नो करिअरमा निकै ठुलो सहयोग पुर्याउने प्रमोदको विश्वास छ । ‘अन्य फिल्ममा पनि मेरो क्यरोक्टरलाई रुचाइएको नै थियो । तर त्यहाँ मैले निर्वाह गरेको पात्र हिट थियो । अहिले चाहिँ प्रमोद अग्रहरी चर्चामा छ ।’

अर्को जोडी संजोग र सन्ध्या पनि फिल्मलाई लिएर निकै आशावादी छन् । मिडियासामु अन्तर्वार्ता दिने क्रममा उनीहरु फिल्मबाट निकै आशावादी भएको तर्क दिइरहेका छन् । फिल्मको प्रचार सामग्रीमा उनीहरुको भन्दा पनि प्रियंका र प्रमोदको चर्चा बढी भइरहेको छ । यस विषयमा संजोग भन्छन्, ‘हाम्रो समाज नै यस्तै छ । त्यस्ता कुराहरुलाई छिट्टै लिन्छन् ।’

फिल्ममा भएका तीन कथा मध्ये लभ वाला भुमिकामा संजोग र सन्ध्याको जोडी प्रस्तुत छन् । उनीहरु फिल्ममा आफ्नो भूमिका र कथा पनि उत्तिकै शशक्त भएको बताउँछन् । सन्ध्या भन्छिन्, ‘फिल्ममा हामीले निर्वाह गरेको भूमिका पनि निकै बलियो छ ।’

लाइफ वाला पात्र निर्वाह गरेका आयुष्मान र प्रेक्षा भने मिडियामा आएका छैनन् । प्रेक्षा देश बाहिर छिन् भने आयुष्मन आफ्नो जोडी नभएका कारण प्रचारमा हिडेका छैनन् ।