साजन राईको पाँचौँ एकल साँझ हुँदै

दसैँ र तिहारको अवसर पारेर गणेश रसिक फाउन्डेसन र समृद्धिका लागि सांस्कृतिक अभियानले पूर्वका चर्चित गायक साजन राईको पाँचौँ एकल साँझ गर्ने भएको छ । असोज २४ गते काठमाडौंको राष्ट्रिय नाचघरमा कार्यक्रम हुने आयोजकले बताएको छ । उनले यसअघि विराटचोक, दमक, बेलबारी र विराटनगरको आरोहण गुरुकुलमा एकल साँझ गरिसकेका छन् । सयभन्दा बढी गीतमा स्वर तथा संगीत दिइसकेका गायक राईको ‘सेक्रेट हार्ड, तराना, पर्खाइ, कान्छी गरी पप/आधुनिक विधामा चारवटा सोलो एल्बम निस्किसकेका छन् ।

‘यो एकल साँझ विशुद्ध साजन राईलाई ‘राइज’ गराउन आयोजना गरिएको हो,’ सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष गणेश रसिकले भने, ‘विराटनगरलाई कर्मथलो बनाउँदै आएका राईलाई यसपटक हामीले काठमाडौँ ल्याएका छौँ ।’ कार्यक्रममा सर्वसाधारणका लागि प्रवेश निःशुल्क हुनेछ । एकल साँझमा गायक राईले ‘नेपाली नेपाली हामी नेपाली,’ ‘पूर्वको माया पश्चिमलाई,’ ‘दिन रात सानु,’ ‘तिमी गयौ र,’ ‘पैसा र बैँस थाहा हुन्न कान्छी,’ ‘साइँलो,’ ‘धुम तानाना,’ ‘तिमीले छमछम छमछम,’ ‘देश कहिले अन्तुमा काटिन्छ’लगायत झन्डै डेढ दर्जन चर्चित गीत गाउने छन् ।

तीन घन्टा चल्ने कार्यक्रममा उनलाई श्रेयसी चेम्जोङ र राधा राईले गायनमा सघाउँदै छन् । शीलाबहादुर मोक्तान, मनोहर सुनाम, दीपक थापा, रविन, अनुप दास, भरत बुढाथोकी, पोषण घर्तीमगर, रत्न विक लगायत १२ जनाको लाइभ म्युजिकमा साजनले गाउनेछन् ।