रजनी केसी, यता न उता

दर्शकले अभिनेत्री रजनी केसीलाई त विर्सन थालिसकेका छन् । किन भने उनको फिल्मको यात्रा यता न उताको भयो ।

लोफर फिल्म गर्दा रजनी केसीले त्यो बेलामा रेखा थापालाई नै टक्कर दिनेछिन् भनेर निर्माता छविराज ओझा नै कुर्लिए । तर, लोफरले पानी नमाग्दा छविलाई ३५ लाख घाटा भयो ।

यसपछि रजनीलाई छविले आफ्नो ब्यानरको हिरोइन बनाएनन् । यसैले रजनी केसी कमजोर बजेटका फिल्ममा देखिन थालिन् । अहिले त उनले ती कम बजेटका फिल्म पनि पाउन छाडेकी छन् ।

रजनी केसीको आज जन्मदिन परेको छ । उनलाई जन्मदिनको शुभकामना भनिरहँदा उनलाई फिल्म क्षेत्र फापेको देखिएन ।

कलाकार निर्मल शर्माको टेन टू फाइव नामक टेलिभिजन शोमा उनले काम गरिरहेकी छिन् । फिल्ममा निर्माताले पत्याएनन्, उनको अनुहार पनि बिकेन ।

रजनी राम्रो फिल्म अफर नआएकाले नगरेको भन्ने बनिबनाउ जवाफ अहिले पनि दिन्छिन् । तर, छविराज ओझाले जन्माएका रेखा थापा, रजनी केसी र शिल्पा पोखरेल मध्ये असफल हुने अभिनेत्रीमा रजनी मात्र परिन् ।