‘छिरिङ’ मेरो हातमा नपरेको भए फिल्म नै बन्थेन – नायक/निर्देशक यश कुमार

गायक यश कुमारको निर्देशनमा तयार भएको फिल्म ‘छिरिङ’ प्रदर्शनको संघारमा छ । यहि शुक्रबार अर्थात् असोज १२ गतेबाट फिल्मले आफ्नो प्रदर्शन यात्रा तय गर्ने छ । यश कुमारको डेब्यु निर्देशन रहेको यस फिल्ममा यश कुमारसँगै निमा रुम्बा, कामना भुजेलको मुख्य भुमिका रहेको छ ।

‘छिरिङ’लाई लिएर निर्देशक तथा नायक यश कुमार निकै आशावादी छन् । ‘समाजमा भएको अथार्थ कथालाई फिल्ममा उतारेको छु’, उनी भन्छन्, ‘फिल्म राम्रो बनेको छ । त्यसैले सफल हुने आशा हामीमा छ ।’ पहिलो पटक निर्देशक बनेर काम गरेका यशले छिरिङ्गमा निकै मेहनत गरेका छन् । ‘आफ्नो तर्फ बाट सत प्रतिशत दिएर काम गरेको छु’, उनी थप्छन्, ‘अब मेरो काम कस्तो भयो भन्ने चाहिँ दर्शकले मुल्यांकन गर्नु हुन्छ ।’

यश कुमार हिरोइनसँग नाच्न पाइन्छ वा उनीहरुसँग नजिक हुन पाइन्छ भनेर फिल्म क्षेत्रमा नआएको तर्क राख्छन्, ‘म हिरोइनसँग नजिक हुने आशमा फिल्म क्षेत्रमा आएको हैन’, यशले भने, ‘मेरो मुख्य लक्ष्य भनेको मनोरन्जन सहितको केही म्यासेज दिनु हो । त्यही गरिरहेको पनि छु ।’ बाटो मुनिको फूल देखि नै समाजलाई केही सन्देश दिने फिल्म बनाइरहेको उनले बताए ।

यशका अनुसार ‘छिरिङ’ले पनि समाजलाई केही सन्देश दिनेछ । उनले भने, ‘मैले यस फिल्ममा बहुपति प्रथालाई उठान गरेको छु । साथै यस फिल्ममा आर्यन र मंगोलियन बिचको द्वन्द्व पनि समावेश छ ।’ फिल्म क्षेत्रमा लाग्नका लागि कि आफ्नो ससुराली, कि मामा, कि काका कि अरु कोही चाहिन्छ । तर मेरो कोही थिएन । जब सम्म आफुले केही गर्दैन तव सम्म कसैले सहयोग गर्ने वाला छैन । जसरी मैले गीत संगीतको मार्फतबाट परिवर्तनको आवाज उठाउँदै आएको थिएँ त्यसले पुगेन । र, अब फिल्मको मध्यमबाट भनौँ या कलाकारिताको माध्यमबाट त्यो परवर्तनको आवाजलाई अझै बुलन्द बनाउन म फिल्म क्षेत्रमा आएको हुँ ।

यहाँले गीतमा होस् या फिल्ममा धेरै जसो ‘परिवर्तनका लागी’ भन्ने गर्नुभएको छ । वास्तवमा यहाँले खोजेको परिवर्तन के हो ? भन्ने प्रश्नमा जवाफ दिँदै उनले भने, ‘समानता वा बराबरीको हक’ । समानता वा बराबरी कहाँ के मा भएन भन्ने प्रतिप्रश्नको जवाफमा उनले भने,’हरेक नागरिकले नागरिकता प्राप्त गरे बापत पाउने सेवा सुविधा समान छैन । त्यसमा विवेध देखिन्छ । त्यसकै समानताका लागी मैले आवाज उठाएको हुँ ।’

आफैँ निर्देशक अनि आफैँ कलाकार पनि किन ? मेरो फिल्मको यस प्रश्नमा उनले भने, ‘कथा अनुसार मलाई उक्त पात्र सुहाउने भएका कारण आफैँले अभिनय गरेको हुँ ।’ उनले फिल्मका सम्पूर्ण कलाकार कथा अनुसार नै छनोट गरिएको बताए ।

‘छिरिङ’ भन्ने बित्तिकै मंगोलियन सुनिन्छ । तर फिल्म मंगोलियन मात्र नभएर विसुद्ध नेपाली फिल्म भएको यशले बताए । उनले भने, ‘छिरिङ नाम सुनिदा मंगोलियन सुनिए पनि यो कुनै जातिगत फिल्म हैन । यो त विसुद्ध नेपाली फिल्म हो ।’

‘छिरिङ’ नयाँ र समाजको वास्तविक कथामा बनेको फिल्म भएका कारण चल्नै पर्ने यशले बताए । ‘छिरिङ्ग चल्ने हैन, दौडिनु पर्छ’, यशले भने, ‘राम्रो म्यासेज दिनको लागि बनाइएको जुन फिल्म भए पनि चल्नु पर्छ जस्तो लाग्छ ।’ यशका अनुसार फिल्म निर्माणमा कुनै कम्परमाइज गरिएको छैन् ।

‘छिरिङ’मा पुरानो चर्चित गीत ‘ए कान्छा’लाई रिमेक गरि समावेश गरिएको छ । यश उक्त गीतको फ्यान भएकाले ‘ए कान्छा’लाई रिमेक गरि समावेश गरिएको हो । यश भन्छन्, ‘फिल्ममा एउटा पुरानो गीत आवश्यक थियो । त्यसमा मैले सुनेको मध्ये सबै भन्दा उत्कृष्ट र आफु पनि उक्त गीतको फ्यान रहेकाले फिल्ममा रिमेक गरेर समावेश गरेको हुँ । त्यस गीतलाई तोडमोड गरेर बिगारेको छैन । जीवन्तता दिने प्रयास गरेको छ ।’