‘बकम्फुसे राजा’मा दयाहाङ, लिए १७ लाख

रंग पत्रकार प्रकाश सुवेदीको निर्देशनमा बन्न लागेको फिल्म ‘बकम्फुसे राजा’मा दयाहाङ राई फाइनल भएका छन् । फिल्म निर्माण युनिट र दयाहाङ बीच लिखित सम्झौता पनि भइसकेको छ । दयाहाङले यस फिल्ममा नायिका वर्षा राउतसँग रोमान्स गर्नेछन् ।

दयाहाङ बकम्फुसे राजामा महँगो पारिश्रमिक सहित अनुबन्धित भएका छन् । श्रोतका अनुसार दयाहाङले यस फिल्म बाट १७ लाख पारिश्रमिक बुझेका छन् ।

फिल्मका लागि दयाहाङ भन्दा पहिला खगेन्द्र लामिछानेलाई प्रस्ताब गरिएको थियो । खगेन्द्रलाई निर्माण युनिटले ३० लाख भन्दा बढी पारिश्रमिकको अफर सहित फिल्मको स्कृप्ट दिएको थियो । तर खगेन्द्रले आफु उक्त क्यारेक्टरमा काम गर्न नसक्ने भन्दै फिल्म छोडेका थिए ।

अन्तत: उक्त क्यारेक्टरमा काम गर्न दयाहाङ तयार भएका छन् । उनले खगेन्द्रलाई अफर गरिएको भन्दा आधा पारिश्रमिक बुझेर फिल्ममा काम गर्न तयार भएका हुन् ।

पछिल्लो समय फिल्म वृत्तमा दयाहाङ राईको क्रेज कम हुँदै गएको चर्चा छ । उनले अभिनय गरेको पछिल्लो फिल्महरुले बक्स अफिसमा खासै जादु गर्न सकेको छैनन् । अभिनयमा अब्बल दयाहाङले फिल्मलाई व्यापारिक सफलता दिलाउन भने सकेका छैनन् । यसै बीच बकम्फुसे राजाको व्यापारिक भविष्य कस्तो हुने हो त्यो प्रतीक्षाको विषय बनेको छ ।