‘इन्टु मिन्टु लण्डनमा’ युट्युबमा नआउने

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ले हलमा सुखद व्यापार गरिरहेको छ । फिल्मले प्रदर्शको एक सातामा नै साढे तीन करोडको हाराहारीमा व्यापार गर्न सफल भएको छ । फिल्म हेरेका दर्शकले पनि सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

हलमा राम्रो व्यापार गर्न सफल यस फिल्म युट्युबमा भने रिलिज नहुने भएको छ । निर्देशक रेनाशा बान्तवा राईका अनुसार फिल्मलाई युट्युबमा रिलिज नगरी ‘नेट फ्लिक्स’बाट विश्वब्यापी रिलिज गर्ने प्रयास भइरहेको छ । उक्त कुराको टुंगो केही दिनमा लाग्ने निर्देशक राईले बताइन् ।

पछिल्लो समय नेपाली फिल्मका दर्शकहरुको एक समुह फिल्मको युट्युब रिलिजको पर्खाइमा रहने गरेको र त्यसले निर्मातालाई घाटा हुने भएकाले इन्टु मिन्टु युट्युबमा रिलिज नगर्ने रेनाशाले बताइन् ।

फिल्ममा बढ्दै गएको लगानी र फिल्म निर्माणको विकासोन्मुक पछिल्लो अवस्थालाई हेर्ने हो भने लगानीकर्ता सँग सँगै फिल्मका दर्शकले हलसम्म पुगेर फिल्म हेर्ने वातावरणको विकास हुनु पर्ने उनको भनाई छ । ‘जबसम्म दर्शकहरु हलसम्म आएर फिल्म हेर्दैनन् तब सम्म हामीले सोचेको फिल्म क्षेत्रको सम्मुन्न्ति र विकास सम्भव छैन्’, उनले भनिन्, ‘युट्युबले केही हदसम्म निर्मातालाई राहत त दिएको छ तर लगानीको अनुपातमा त्यसको प्रतिफल न्यून छ । त्यसलाई बढाउने एक मात्र उपाय दर्शकलाई फिल्म हेर्न हलसम्म ल्याउने वातावरणको विकास गर्नु नै हो । त्यसैको प्रयास हामीले सुरु गरेका हौँ ।’

सामाजिक संजालको विकास क्रमले फिल्म हेर्न सहज त बनाएको छ तर त्यसले दिगो रुपमा फिल्म निर्माण गर्ने निर्माताहरुलाई केही फाइदा पुर्याएको छैन भन्दा अतियुक्ति नहोला ।