पछी सर्यो अनमोलको ‘ब्याचलर बन्टी’, ‘वीर बिक्रम २’ सुरु गर्दै चाम्स

नायक अनमोल केसी यस वर्ष चार फिल्ममा अनुबन्धित भएका थिए । चारै फिल्म यसै वर्ष रिलिज हुने तय भएको पनि थियो । तर पछिल्लो समयको अवस्था फेरिएको छ ।

‘क्याप्टेन’को सुटिङ सकेर ‘ए मेरो हजुर ३’ को वर्कसपमा रहेका उनले ए मेरो हजुर ३ को सुटिङ सकेर ‘ब्याचलर बन्टी’को लागी समय दिनुपर्ने समयतालिका थियो । ब्याचलर बन्टीका निर्देशक मिलन चाम्सको भनाईलाई सत्य मान्ने हो भने यस फिल्मको सुटिङ असोज ३० गतेबाट सुरु हुनुपर्ने हो । तर अब त्यो असम्भव जस्तै भएको छ ।

ए मेरो हजुर ३ अझै फ्लोरमा नगएका कारण असोज ३० गते अनामोलले ब्याचलर बन्टीको सुटिङ जोइन गर्ने सक्ने छैनन् । ए मेरो हजुर ३ को सुटिङ असोज २४ गतेबाट मात्र सुरु हुने भएको छ । उक्त फिल्मको सुटिङ सेड्युल ४५ दिनको रहेको निर्देशक झरना थापाले बताएकी छिन् । दशैँ र तिहारमा केही दिन ब्रेक पनि राखिएको छ । यसो हुँदा अनमोलले असोज ३० गते अर्को फिल्मको सुटिङ सेट जोइन गर्ने कुरै भएन ।

अनमोलको कारण ब्याचलर बन्टीको सुटिङ सुरु हुने सम्भावना अहिलेलाई टरेको छ । बुझिए अनुसार निर्देशक मिलन चाम्स ब्याचलर बन्टीको सुटिङलाई पछि सार्दै अर्को पुर्व घोषित फिल्म ‘वीर बिक्रम २’ निर्देशनको तयारीमा छन् ।

निर्देशक मिलन चाम्सका अनुसार अनमोलको सेड्युल नमिलेका कारण ब्याचलर बन्टी भन्दा पहिला वीर बिक्रम २ निर्माण गरिने भएको हो । उनले भने, ‘ए मेरो हजुर ३का कारण अनमोलको सेड्युल पनि मिलेन । अलिकति लुक्स पनि चेन्ज गर्नु पर्ने भएकाले हामीले ब्याचलर बन्टीलाई पछाडी सारेर वीर बिक्रम २ बनाउने तयारी गरेका हौँ ।’