फिल्म फ्लप प्रेम सम्बन्ध चैट

पछिल्लो समय सफल वा असफल व्यवसायिक जीवनले कुनै पनि ब्यक्तीको प्रेम सम्बन्ध दिगो रहन्छ या क्षणिक रहन्छ भन्ने प्रस्टाउन थालिएको छ । सफलतासँगै जोडिने सम्बन्धहरु असफलतासँगै तोडिन थालेका छन् । हरेक क्षेत्रमा जस्तै नेपाली फिल्म क्षेत्रमा पनि सफलतासँगै सम्बन्ध जोडिने र असफलतासँगै सम्बन्ध तोडिने घटनाहरु पुराना हुन थालेका छन् । हामी ती ४ जोडीको कुरा गर्दै छौँ जसले फिल्मको असफलतासँगै प्रेम जीवनलाई पूर्णबिराम दिएका थिए । संयोग हो या वास्तविकता त्यो त भोग्नेलाई नै थाहा होला तर निम्न उल्लेखित जोडीहरुको प्रेम सम्बन्ध फिल्मको असफलतासँगै टुंगिएको थियो :

सलोन बस्नेत र करिश्मा श्रेष्ठ

सलोन बस्नेत र करिश्मा श्रेष्ठको प्रेमको चर्चा फिल्म ‘बाबु कान्छा’ को समय भरि चल्यो । त्यस समय फिल्मको भन्दा सम्बन्धको चर्चा बढी नै भयो । कारण नबताए पनि चार बर्ष पुरानो सम्बन्ध सलोन आफैले ब्रेकअपको खबर साचो भएको भनेका छन् । फिल्म नचलेसँगै सम्बन्धको समेत अन्त्य भएको छ ।

संयोग हो या पुरानो चलन अरु पनि केही जोडी छन् जसको राम्रो सम्बन्ध फिल्मको असफलतासँगै टुंगिएको छ ।

नीता ढुंगाना र आमेश भण्डारी

फिल्म ‘फुलै फुलको मौसम तिमीलाई’मा सँगै देखिएको जोडी एक अर्काको प्रसंसामा नथाक्ने भनेर चिनिन्थ्यो । यी दुईको सम्बन्धको अन्त्य फिल्मको असफलतासँगै भयो । एकदम मिलेको जोडी र बिवाहसम्म गर्ने तयारीमा रहेका यी दुईको फाटोको कारण भने अझैसम्म थाहा हुन सकेको छैन । एक अर्काबाट टाढिएको लामो समय भए पनि यी दुईको अरु कसैसँग नाम जोडिएको भने छैन । अझै पनि बिगतको कुरा गर्दा यी दुईको आखा भरिएको देख्न सकिन्छ । माया नै मायाले बाधिएको जस्तो लाग्ने यो जोडी फिल्म प्रदर्शनमा आएर असफल भए सँगै सम्बंधमा बाधिईरहन समेत असफल रह्यो ।

रिचा शर्मा र बिनय श्रेष्ठ

खुलेरै सम्बन्धको बारेमा बोल्ने रिचा शर्मा र बिनय श्रेष्ठको जोडीको पनि बिछोड भयो । फिल्म भिजा गर्लको असफलतासँगै लामो समयबाट प्रेममा रहेका यी दुईको ब्रेकअप भयो । यी दुईको सम्बन्धको चिसोपनाले धेरै शुभचिन्तकको मनमा ठेश पुर्यायो । विनयले अहिले बिवाह गरिसकेका छन् भने रिचाको अर्पण थापासँगको सहकार्य सँगै सम्बन्धको चर्चा चल्ने गरेको छ । चर्चा चले पनि यी दुई सम्बन्धको बारे मौन छन् ।

आयुष्मान देशराज जोशी र परमिता आर एल राणा

फिल्म असफल भएसँगै छुटिएका अर्का जोडी हुन्, आयुष्मान देशराज जोशी र परमिता आर एल राणाको । ‘फिल्म चपली हाइट २’ ले हाइट लिन नसकेसँगै यी दुईको ४ बर्ष पुरानो सम्बन्ध समेत टुंगिएको थियो । हाल आयुष्मानले अर्की नायिका प्रियंका कार्कीसँग इन्गेजमेन्ट गरिसकेका छन् र अर्को बर्ष बिवाह हुने जानकारी दिएका छन् । परमिताले समेत आफ्ना प्रेमी भन्दै सामाजिक संजालमा एक युवकको तस्विर सार्वजनिक गरेकी छन् । दुवै आफ्नो व्यक्तिगत जीवनमा खुसी छन् । ब्याक्तिगत सम्बन्धमा दरार आए पनि यी दुईले सँगै काम गरेको फिल्म चङ्गा चेट प्रदर्शनको क्रममा छ ।