अन्तरदेशीय प्रेम सम्बन्धको कथा ‘प्रेमलिला’

अन्तरदेशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गर्ने ‘प्रेमलिला’को फस्ट लुक सार्वजनिक भएको छ । बुधबार अनामनगरमा आयोजित कार्यक्रममा फिल्मको पहिलो झलक सार्वजनिक गरिएको हो । यससँगै फिल्मले प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार फिल्म माघ २५ बाट देशभर रिलिज हुनेछ । फस्टलुकमा दीपशिखाको कपाल खौरिएको फोटो मात्र सार्वजनिक गरिएको छ ।

फिल्ममा दीपशिखा खड्का, अलि खान र मौसम खड्काको अभिनय रहेको छ । खान र खड्काले यसैफिल्मबाट डेब्यु गरेका हुन् । दीपशिखाले यसअघि केही फिल्ममा अभिनय गरे पनि ‘प्रेमलिला’  नै आफ्नो डेब्यु फिल्म रहेको बताइन् ।‘ गर्न त मैले आठ वर्षको अवधिमा थुप्रै फिल्ममा अभिनय गरें तर मलाई कुनै पनि फिल्मले चिनाएनन् । त्यसैले मैले पनि यसलाई डेब्यु फिल्म नै ठानेकी छु,’ खड्काले भनिन् । उनले फिल्मको गेटअपमा रहन सुटिङदेखि अहिलेसम्म ५ चोटि कपाल खौरिएको बताइन् ।

दुबईमा मोडलिङ गर्दै आएका अलि खानले फिल्ममा भारतबाट नेपाल घुम्न आउने पर्यटकको भूमिका निर्वाह गरेका छन् । उनले दीपशिखासँग दुबईमा भेट भएको र उनले फिल्म खेल्न अप्रोच गरेका कारण फिल्म खेलेको बताए । उनले भने, ‘दुबईमा दीपशिखासँग भेट भएको थियो । उनले फिल्मको बारेमा बताएकी थिइन् । पछि कथा चित्त बुझ्दो भएपछि खेल्न राजी भएको हुँ । आगामी दिनमा पनि नेपाली फिल्म खेल्न तयार छु ।’

दीपशिखा खड्का कै कथा तथा लेखन रहेको फिल्मलाई पवन गौतमले खिचेका हुन् । जनक पाण्डेले निर्देशन गरेकोमा फिल्ममा नानीमैया कार्की र फैजिल फिल्मस्को लगानी रहेको छ । फिल्मलाई सुनिल मानन्धरले वितरण गर्न लागेका हुन् ।