बैदेशिक रोजगारीको कथा बोल्ने ‘निर्जला’

यस साताको शुक्रबारबाट फिल्म निर्जला प्रदर्शनमा आउदैछ । हरेक साता दुई वा दुई भन्दा बढी फिल्म रिलिज भइरहेको समयमा यस फिल्मले भने सोलो रिलिजको मौका पाएको छ । राजु गिरीको निर्देशनमा तयार भएको यस फिल्ममा सुभेक्षा थापा, किशोर खतिवडा, निक शर्मा लगायतको मुख्य भूमिका रहेको छ । निर्जलालाई प्रकाशचन्द्र न्यौपानेले निर्माण गरेका हुन् । निर्माण युनिट फिल्मलाई लिएर निकै आशावादी देखिन्छ । निर्देशक राजु गिरी यस फिल्ममा आफुले धेरै मेहनत गरेको बताउँछन् । ‘पहिला गरेको कामबाट धेरै कुराहरु सिक्न पाएको छु । उक्त सिकाइलाई यस फिल्ममा प्रयोग गरेर राम्रो गर्ने कोशिस गरेको छु ।’ फिल्मले बैदेशिक रोजगारीको कथा बोकेको निर्देशक गिरीले बताए ।

नायिका सुभेक्षा थापा पनि निकै उत्साहित देखिन्छिन् । उनी भन्छिन्, ‘मलाई दर्शकले एकदमै उत्तेजित सुभेक्षा भनेर हेर्नु हुन्छ । तर यस फिल्ममा ठिक उल्टो भूमिका निर्वाह गरेको छु । त्यसैले दर्शकले यस फिल्मबाट मलाई भिन्न अवतारमा देख्न पाउनु हुनेछ ।’ फिल्ममा सुभेक्षा एक गाउले सोझी केटिको भूमिकामा प्रस्तुत छिन् । नायक किशोर खतिवडा पनि फिल्मलाई लिएर आशावादी छन् । ‘यस फिल्ममा हामीले धेरै मेहनत गरेका छौं । मेहनत अनुसार दर्शकले यसलाई रुचाइदिनु हुन्छ भन्ने आशा लिएको छुँ’, उनले भने ।  निर्माता प्रकाशचन्द्रले आफु यस क्षेत्रमा नयाँ भएको र नयाँ जोश सहित फिल्म निर्माणमा लागेको बताए । ‘म यस क्षेत्रमा नयाँ हुँ । यस क्षेत्रमा केही गर्ने सोच सहित निर्माणमा हात हालेको छु ।’ प्रकाशले निर्जलाको कथा मन परेकोले यस फिल्ममा लगानी गरेको तर्क राख्छन् । प्रकाश यहि क्षेत्रमा रहेर काम गर्ने सोचमा छन् ।