कायरा नचलेपछि फेरियो आर्यनको बोली

अभिनेता आर्यन सिग्देलले आफ्नो नाममा खोलेको ब्यानर हो, आर्यन सिग्देल फिल्म्स । यो ब्यानरले नोभेम्बर रेन, क्लासिक, कायरा फिल्म बनाएको छ । यो ब्यानर खोलेपछि आर्यनले अरुका ब्यानरका फिल्म नखेल्ने घोषणा गरेका थिए । यदी अरुको ब्यानरका फिल्म खेल्नु परेको खण्डमा आफ्नो ब्यानर पनि साझेदारी हुनुपर्ने आर्यनको भनाई रहेको थियो ।

आर्यनले यही अनुसार काम पनि गरेका हुन् । तर, कायरामा लगानी गरेको पैसा नउठ्ने पक्का भएपछि आर्यन झस्किएका छन् । उनले आफ्नो ब्यानरको साझेदारी विना नै फिल्म खेल्न लागेका छन् ।

आर्यनले खेल्न लागेको फिल्म ‘हजार जुनी सम्म’लाई उनको ब्यानरले साझेदारीमा निर्माण गर्न लागेको होइन । राम्रो पारिश्रमिक पाएपछि आर्यन विकासराज आचार्यको निर्देशनमा बन्ने यो फिल्ममा मुख्य हिरो हुन तयार भएका छन् ।

आर्यनले आफ्नो ब्यानरबाट राम्रो फिल्म बनाउने र दर्शकमाझ आफूले चाहे जस्तो फिल्म दिने बताएका पनि थिए । तर, अब आर्यन राम्रो पारिश्रमिक लिएर आफ्नो ब्यानरको साझेदारी नगरी फिल्म खेल्न तयार भएका छन् । कायराले कायल नै बनाएछ आर्यनलाई  ।