क्याप्टेनले विर्सायो अनमोललाई वाचा

अभिनेता अनमोल केसीको होम प्रोडक्शनबाट फिल्म ‘क्याप्टेन’ बनेको हो । क्याप्टेन फिल्मको रिलिज डेट नै फाइनल नहुँदै अनमोलले २ ठूला ब्यानरका फिल्ममा संझौता गरिसकेका थिए । अभिनेत्री झरना थापाको ‘ए मेरो हजुर २’ र मिलन चाम्सको ‘ब्याचलर बन्टी’मा उनले काम गर्छु भनेका थिए । मिलनले अनमोलसँगको सहमतीपछि नै असोजमा फिल्म सुरु गरेर फागूण १७ गते रिलिज गर्ने सेड्यूल नै बनाइसकेका थिए ।

यतिबेलासम्म अनमोलको घरकै फिल्म क्याप्टेन भदौ या कात्तिकमा रिलिज हुने निर्माता भूवन केसीले बताइरहेका थिए । तर, राम्रो डेट भूवन र अनमोलले होम प्रोडक्शनको फिल्मलाई दिन छाडेर किन बाहिरको ब्यानरलाई दिन्थे होलान् र ? सार्दा सार्दा क्याप्टेन फागुन १७ मा पुर्याएका छन् ।

क्याप्टेन सरेपछि मिलनको ब्याचलर बन्टीको छायांकन नै कहिलेबाट सुरु हुन्छ थाहा छैन । अभिनेत्री झरना थापा पनि ए मेरो हजुर ३ कहिले रिलिज गर्ने, चैत्र २९ मा गर्ने कि नगर्ने दोधारमा परिसकेकी छन् ।

अनमोलले समय दिन नसक्ने भए किन २ वटा फिल्म संझौता गरिदिएका होलान् । आफ्नो दुनो सोझ्याएर अरुको हेर्ने हो भने, क्याप्टेन रिलिजपछि मात्र अरु फिल्म संझौता गरेको भए हुन्थेन र ?