दर्शक यहीँ छन्, कहीँ गएका छैनन् – ध्रुव लम्साल

नेपाली रंग पत्रकारितामा एउटा टिठ लाग्दो प्रचलन छ । कुनै एउटा फिल्म हलमा लाग्यो । दोस्रो दिन (शनिवार) ३० लाखको हाराहारीमा ‘ग्रस’ ब्यापार गर्यो भने साँझ निर्माताले फेशबुकमा लेख्छन् ‘फिल्मको ब्यापार बम्पर’ प्राय अनलाइन पोर्टलको मुख्य समाचार शीर्षक हुन्छ ‘फलानो फिल्मको ब्यापार करोड क्लब नजिक’ ।

यसरि समाचार छाप्ने मध्ये कतिलाई फिल्मको बास्तविक ब्यापार थाह हुन्छ । तर, लेख्दैनन् । वास्तविक ब्यापारवारे कलम चलायो भने ‘दाई, अंकल वा दोस्त’ निर्माता रिसाउन सक्छन् । यदि ति निर्माता रिसाए भने प्रचारजन्य काम गरेवापतको ज्याला लिन गार्हो पर्छ ।
रंगपत्रकारिताकै अर्को लुलो पाटो पनि छ । केही फिल्मले लगानी उठाए भने समाचारको शीर्षक बन्छ ‘फिल्मको मौसम सुरु भयो, फलानो फिल्मले यति कमायो ।’ फेरि फिल्म चल्दैन । अनि निर्मातासंगै सञ्चारकर्मीहरु पनि अंगालो मारेर रुँदै रुँदै लेख्छन् ‘फिल्मको माहोल बिग्रियो दर्शक हलमा आएनन् ।’

निर्माता, निर्देशक, कलाकार र समाचार लेख्नेले पनि बुझ्नु पर्ने के हो भने फिल्मको ब्यापारमा मौसमको असर खास हुन्न । यदि राम्रो फिल्म छ भने पुस, माघ, असार, साउन जहिले पनि चल्छ ।’ उदहारणका लागि फिल्मी क्यालेण्डरमा चल्ने मौसम भनेर ब्याख्या गरिएका माघे सक्रान्ती, नयाँ वर्ष, तीज, दसैँ र तिहार जस्ता मौसममा रिलिज भएका फिल्मको ब्यापार हेरे हुन्छ । पर्वको छेको पारेर रिलिज गरिएका धेरै फिल्मले असाध्यै झिनो ब्यापार पनि गरेका छन् ।

बेतुकको बहस
कहाँ गए नेपाली फिल्मका दर्शक ? किन घटे फिल्मका दर्शक जस्ता विषय बेला मौकामा मुख्य समाचार बनेर आउछ । त्यही शीर्षकमा कतिपयले विश्वास गर्न नसकिने तर्क पेश गर्दै विश्लेषण पनि गर्छन् ।

यही महिनामा प्रदर्शनमा आएका फिल्मको कुरा गर्ने हो भने फिल्म हलमा धेरै फिल्म लाग्यो । इन्टु मिन्टु, बाँध मायाले, धुम ३, अनुराग, कथा काठमाडौ, छिरिङ, निर्जला लगायत । यी मध्ये इन्टु मिन्टु बाहेक कुनै पनि फिल्मले दर्शकलाई प्रभाव पार्न सकेन अनि सुरु भयो दर्शकको अभावको बहस । यद्यपि हलमा लागेका मध्ये कमजोर ब्यापार गर्ने यी फिल्म पहिलो होईनन् । यसअघि पनि निर्माताले धमाकेदार भनेर ब्याख्या गरेका धेरै फिल्मको ब्यापारिक नतिजा निकै पिलन्धरे सावित भैसकेको छ ।

दर्शक यहीँ छन्

नेपाली रंगपत्रकारकै दावीलाई सही मान्ने हो भने दीपाश्री निरौला निर्देशित छक्का पञ्जा र छक्का पञ्जा–२ ले ‘ग्रस’ मा १५ करोड ब्यापार गरेको थियो । ति फिल्म हलमा लाग्दा दीपाश्री वा दीपकराजले कसैलाई नाम्लो लाएर बोकेर हलमा ल्याएका थिएनन् । दर्शक आफैं हलमा आए, लाईन बसे टिकट काटे र फिल्म हेरे । छक्का पञ्जा र छक्का पञ्जा–२ उत्कृष्ठ फिल्म थियो थिएन, छुट्टै बहस होला तर, ति दुबै फिल्मले दर्शक रिझाएका थिए । यसको अर्थ यो पनि हैन छक्का पञ्जा हलमा लाग्ने बित्तिकै फिल्मको माहौल सुरु भयो । त्यसपछि लागेका कतिपय फिल्मको ब्यापारिक नतिजा उस्तै खराब भयो ।

सुटिङ जहाँ सुकै होस्

फिल्मको गुणस्तरको सन्दर्भ आउने बित्तिकै पछिल्लो समय निर्माताले बजेट र लोकेशनलाई मुख्य विषय बनाउने गरेका छन् । मेरो फिल्मको लगानी यति करोड । अर्को कुरा पनि गर्छन् हङकङ, बेलायत, कतार वा सिंगापुरमा सुटिङ गरिएको ।

कुन फिल्म कहाँ सुटिङ भो वा त्यसको बजेट कति छ, त्यस्ता विषयमा दर्शकले खास चासो राख्दैनन् । जब फिल्ममा विदेशमा सुटिङ गरिएको प्रसंग जोडिन्छ । फिल्म कमजोर छ कि भन्ने आशंका त्यहिँबाट सुरु हुन्छ दर्शकमा किनकी कोही पनि दर्शक विदेशी शहरको दृष्य हेर्नकै लागि नेपाली फिल्म हेर्न जाँदैन । यदि कुनै दर्शकलाई विदेशका रमणीय दृष्य हेर्न मन लाग्यो भने ३५० रुपैया तिरेर सिटी सेन्टर वा सिभिल मलसम्म पुग्नु पर्दैन । हातमै भएको मोबाईलमा एकछिन क्लिक गरेपछि संसारको सुन्दर शहर र सुन्दर मान्छे काखैमा आउँछन् ।

दर्शक किन हलमा जाँदैनन् ?
र, दर्शकलाई हलमा ल्याउन त्यति सजिलो पनि छैन । किनकी फिल्म हेर्नु अघि हरेक मान्छेले आफैंलाई प्रश्न गर्छ ‘मैले यो फिल्म किन हेर्ने ? अनि उत्तर पनि आफैंले खोज्छ यसकारण हेर्नुपर्छ भन्ने लाग्यो भने मात्रै हल धाउँछ ।

एउटा चारजनाको परिवार कुनै हलमा फिल्म हेर्न गयो भने टिकट, पानी, सामान्य खाजामा कम्तिमा २ हजार रुपैंया खर्च हुन्छ । त्यसकारण हरेक दर्शकले फिल्म हलको टिकट बुक गर्नु अघि एक पटक सोच्छ मैले तिरेको पैसाले मलाई सन्तुष्टि दिन्छ कि दिँदैन ? त्यस फिल्ममा काम गर्ने निर्देशक, कलाकार, लेखकलगायतका विषयमा बुझेपछि चित्त बुझ्यो भने मात्रै उसले टिकट काट्छ । किनकी मनोरञ्जनको माध्यम फिल्म मात्रै हैन भन्नेमा दर्शक सचेत भैसकेको छ । तर, धेरै निर्देशकले अझै बुझेका छैनन् ‘मनोरञ्जनको विकल्प फिल्म बाहेक अरु पनि छ ।’

अहिलेकै बजार मूल्य अनुसार यदि दुई हजार खर्च गर्ने हो भने नेपाली बजारमा राम्रा भनिएका कम्तिमा ३ वटा पुस्तक किन्न पुग्छ । तीनवटा पुस्तक किन्ने हो भने एउटा जिज्ञासु दर्शकले एक महिनासम्म ती किताब पढेर प्रसस्त मनोरञ्जन प्राप्त गर्न सक्छ ।

लम्साल राजधानी दैनिकका अनलाईन संयोजक हुन्