‘ड्रिम गर्ल’ टिकटक म्युजीकल्ली च्यालेन्ज बिजेतालाई उपहार

फिल्म ‘ड्रिम गर्ल’ ले टिकटक म्युजीकल्ली च्यालेन्जका बिजेतालाई आइतबार साँझ बसुन्धरास्थित साझा चुलोमा एक कार्यक्रमका बीच उपहार प्रदान गरेको छ ।  मंसिर ७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘ड्रिम गर्ल’  निर्माण टिमले केही समयअघि सुरु गरेको सो प्रतिस्पर्धाको दोश्रो चरणका बिजेतामा शिसिर अर्याल, बन्दना थापा, नीना पाख्रिन, दर्शन काजी थापा, मनिषा राना,बिशालबाबु आचार्य, अभेलिना खड्का, रोश्मी राई, सृजना श्रेष्ठ मगर, अनिशा ड्रिम्स, नेपाली बर्षा र सदिक्षा क्षेत्री रहेका छन् । उनीहरुलाई फिल्मकी डेब्यु हिरोइन आश्मा गिरी, अभिनेता आकाश श्रेष्ठ, निर्देशक ऋषिराज आचार्य, हाँस्य अभिनेता शिसिर भण्डारी लगायतको उपस्थितिमा उपहार प्रदान गरिएको थियो ।

टिकटक च्यालेन्जका लागि ‘ड्रिम गर्ल’ का ‘तिम्रो मायामा हराउन थालेको’ र ‘फूल टिपेर चढाए’ बोलका दुई गीतका ट्रयाक नेपाल म्युजीकल्ली अफिसियल र आवाज नेपालमा अपलोड गरिएको थियो । उत्कृष्ट म्युजीकल्लीलाई साप्ताहिक रुपमा पुरस्कृत गर्ने गरिएको प्रतियोगीता संयोजक समेत रहेकी अभिनेत्री आश्माले जानकारी दिइन् ।

ऋषिराजकै लेखन रहेको फिल्ममा आश्मा र आकाशका साथमा विल्सन बिक्रम राई, शिसिर भण्डारी, पूजा पराजुली, लक्ष्मी गिरी, अर्जुन श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् । अर्जुन शर्मा, रामेश्वर धिताल र ऋषिराज स्वयम् निर्माता रहेको फिल्म निर्माणमा दक्षिण भारतीय कम्पनी रिल एण्ड रियल सिनेमाले सहकार्य गरेको छ ।