‘छक्का पन्जा ३’ प्रदर्शनको दोश्रो दिन २ करोड क्लबमा !

बुधवारबाट प्रदर्शनमा आएको फिल्म ‘छक्का पन्जा ३’ ले आफ्नो प्रदर्शनलाई बम्पर बनाएको छ । कमेडी जनरामा निर्माण भएको यस फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाईं, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, संजोग कोइराला, शिवहरी पौडेल लगायतको अभिनय रहेको छ । फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । प्रतिक्षित मानिएको यस फिल्मको बुकिङ हेर्दा पनि फिल्मले प्रदर्शनको दिन राम्रो ब्यापार गर्ने धेरैको अपेक्षा थियो ।

अपेक्षा अनुसारै प्रदर्शन सुरु गरेको फिल्मले पहिलो दिन मोफसलमा कुल ५८ लाख बराबरको कलेक्सन गर्यो भने उपत्यका भित्र कुल ७५ लाख बराबरको कलेक्सन गर्न सफल भएको छ । अल नेपाल फिल्मले प्रदर्शनको दिन कुल १ करोड ३० लाख कलेक्सन गर्न सफल भएको छ ।

प्रदर्शनको दोश्रो दिन विहिवार रात्री शो छोडेर मोफसलमा फिल्मले ३० लाख बराबर कलेक्सन गरेको छ भने उपत्यका भित्रको कलेक्सन सार्वजनिक भएको छैन । उपत्यका भित्रको बुधवार हलमा देखिएको दर्शकको चापलाई मध्यनजर गर्ने हो भने फिल्म प्रदर्शनको दोश्रो दिन मै २ करोड क्लबमा पवेश गर्ने सम्भावना देखिएको छ । निर्माता दिपक राज गिरीले भने, ‘हिजो हलमा देखिएका दर्शकलाई सत् प्रतिशत मान्ने हो भने आज हलमा ७५ प्रतिशत दर्शकको उपस्थिति रहेको छ ।’

नोट : कलेक्सन रिपोर्ट वितरकले दिएको जानकारीमा आधारित रहेको छ ।