दीपिका अबेर रात आमिरको घरमा

बलिउडकी अभिनेत्री दीपिका पादुकोण अबेर राति आमिर खानलाई भेट्न उनको घर पुगेकी छन् ।

दीपिका आमिर खानको फिल्म ‘महाभारत’ मा द्रौपदीको भूमिका निर्वाह गर्ने खबर आइरहेको छ । यसै सिलसिलामा उनी निर्देशक विक्रमादित्य मोटवानी र सिद्धार्थ रोय कपूरका साथ आमिर खानको घर गएकी थिइन् । अहिले यि तीनैजना आमिरको घर गएको खबरलाई लिएर विभिन्न अड्कल बाजी गरिन थालिएको छ । दीपिका आमिरका साथ अब आउने फिल्मको विषयमा कुराकानी गर्न गएको हुन सक्ने समेत बताइएको छ ।

अहिलेसम्म दीपिका पादुकोण र आमिर खान एकसाथ फिल्ममा काम गरेका छैनन् । यदी दीपिकाले ‘महाभारत’ मा काम गर्ने भएमा आमिर र दीपिकाका फ्यानहरुलाई यो निकै उत्साहजनक हुनेछ । फिल्म ‘महाभारत’ आमिर खानको प्रोडक्शन हाउसमा बन्न लागेको ड्रिम प्रोजेक्ट हो । यो फिल्म एक हजार करोड रुपैयाँको लगानीमा बन्नेछ । आमिर खान र चाइनिज कम्पनी मिलेर यस फिल्मको निर्माण गर्ने तयारीमा छन् ।