सिड्नीमा ‘इन्टु मिन्टु लन्डनमा’को भब्य प्रिमियर

अष्ट्रेलियाबाट आफ्नो अन्तर्राष्ट्रीय प्रदर्शन सुरु गरेको फिल्म ‘इन्टु मिन्टु लन्डनमा’को सिड्नी प्रिमियर भब्य रुपमा सम्पन्न भएको छ । सिड्नीको पारामाटामा रहेको इभेन्ट सिनेमामा गरिएको प्रिमियरमा फिल्मका नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह उपस्थित थिए ।

‘हामीले यहाँ एउटा मात्र हल बुक गरेका थियौं तर दर्शकहरूको चाप बढेकाले एउटै हलमा एकै समयमा दुई शो गर्नु पर्यो । फिल्मका लागि र हाम्रो लागि पनि यो ठुलो सफलता हो’, फिल्म इन्टु मिन्टु लन्डनमालाई अष्ट्रेलिया भित्र्याएको एजुकेशन एण्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीले भने । सिड्नीमा एउटै हलमा तीन सय भन्दा बढी दर्शकहरूले यो फिल्म हेरेका थिए । फिल्मसंगै कलाकारहरूको क्रेजले पनि इन्टु मिन्टु लन्डनमालाई थप उचाईमा पुर्याएको कुरा अस्ट्रेलिया निवासी नेपाली फिल्मप्रेमीहरुले बताएका छन् । ‘अष्ट्रेलियामा रहनु भएका दर्शकहरूलाई राम्रो फिल्म पस्कन पाएकोमा हामी खुशी छौँ, आगामी दिनहरूमा पनि यस्तै राम्रा फिल्महरुलाई अस्ट्रेलिया भित्राउने प्रतिबद्धता ब्यक्त गर्छौँ’, उप्रेतीको भनाई थियो ।

सिड्नीमा फिल्म प्रिमियर गर्नु अगाडि अष्ट्रेलियाको एडिलेटमा फिल्मको प्रदर्शन सफलताका साथ सम्पन्न भइसकेको छ भने अब मेलबर्न, तासमानिया र क्यानबेरामा शो हुँदैछ । ‘फिल्मको बिषय बस्तु र कलाकारहरूको कामको सिड्नीमा रहनु भएका दर्शकहरूले खुलेर प्रशंसा गरेका छन अष्ट्रेलियामा रहनु भएका दर्शकहरूको माया र साथले साँच्चिकै मन फुरूगं भएको छ’, धिरज र साम्राज्ञीले भने ।