दशैँमा कस्तो मेकअप गर्ने ?

हिन्दू धर्मावलम्बीहरुको महान चाडको रुपमा बडादशैँलाई मानिन्छ । दशैँ मेलमिलापको पर्व पनि हो । घरबाट टाढा रहेका आफन्तजन घर फर्कने र नातागोताका मनिसहरु भेला भएर यो पर्व हर्षोल्लासका साथ् मनाउने गरिन्छ । विशेष गरी दशैँको मुख्य दिन टिका हो । टिकाको दिन सबैलाई राम्रो लगाएर राम्रो देखिन मन लाग्छ । राम्रो कसरी देखिने त ? राम्रो देखिनका लागि फेसियल हाउसकी प्रवन्ध निर्देशक सुष्मा महराले दिएको टिप्स यस्तो छ :

हामीले मेकअप गर्दा दिनभरि टिकाउ हुने गरी मेकअप गर्यो भने आकर्षक देखिन्छ । मेकअपको साथ साथै हामीले लगाउने कपडा अनि हेयरलाई पनि ध्यानमा राखेर तयारी गर्यो भने दिनभरि सम्ममा पनि भद्दा देखिँदैन ।
मेकअप गर्दा विवाहित महिलाले ब्राइट देखिने हल्का मेकअप गर्ने र अविवाहितले सिम्पल र नेचुरल मेकअप गर्दा धेरै राम्रो देखिन्छ । हेभी मेकअपले आफूलाई मात्र होइन हेर्नेलाई समेत गार्हो हुन्छ । दशैको समयमा मठ–मन्दिर जाने प्रचलन भएकोले वाटरप्रुफ मेकअप बढी उपयोगी हुन्छ ।

साथै दशैको समयमा विवाहित महिलाहरूले रातो एवम् ब्राइट कलरका पहिरन लगाउँदा सेमी ब्राइडल लुक्स दिने मेकअप उपयुक्त हुन्छ । जसमा आँखा भने स्मोकी हुनुपर्छ । त्यसमा पनि गोल्डेन र ब्ल्याक स्मोकी राम्रो देखिन्छ । डार्क सर्कल छ भने कन्सुलरले छोप्ने, पेनस्टिक लगाउने, ह्वाइट पाउडर प्रयोग गर्ने ।

आइ मेकअप
कपर स्मोकी आइ साडी, गाउन, कुर्ती जुन पहिरनमा पनि सुहाउँछ । कपर स्मोकीमा गोल्डेन वा सिल्भर आइस्याडो लगाई साइडमा ब्ल्याक वा ब्राउनले मर्ज गर्ने । आँखाको सेप गोलो छ भने राउन्ड सेप दिने । मंगोलियन चिन्की आइजलाई स्मोकी आइ त्यति सुहाउँदैन । आर्यन फेसमा स्मोकी आइ निकै राम्रो देखिन्छ । ब्ल्याक स्मोकी आइ मेकअपले सानो आँखालाई ठूलो देखाउँछ । पहिले पेन्सिलले सेप कोर्ने त्यसपछि ब्ल्याक आइस्याडो, तल डार्क माथि ब्राउन कलर प्रयोग गर्दै फेड गर्ने र माथिबाट ह्वाइट स्याडो लगाउने ।

फेस कटिङ
गोलो फेसलाई लाम्चो तरिकाले कटिङ गर्ने, कटिङ गर्दा पहिले ब्राउन्जरले र पछि त्यसकै माथि ब्लसर लगाइदिने । लामो फेसलाई छोटो कटिङ गरी अगाडि अलिकति घुमाइदिने । चिउँडोको हड्डी ठूलो र मासु बढी छ भने ब्राउन्जरले कटिङ गरी लुकाउनुपर्छ । ब्राउन्जरले नाक कटिङ गर्ने । आर्यन नाकमा बीचको भाग ठूलो राख्ने । त्यसपछि ब्राउन्जर लगाइएको भाग माथि ब्लसर लगाउने ।

लिप
दशैंमा रातो लिपिस्टिक खुल्छ । गाउन वा वानपिस छ भने मरुन कलर प्रयोग गर्न सकिन्छ । दशैमा दिनभर टिकाउ हुनपर्ने भएकोले म्याट लिपिस्टिक उपयुक्त हुन्छ ।

लिप केयरका लागि
ओठको छाला अन्य छालाभन्दा निकै नरम र कोमल हुने भएकाले यसको सुरक्षा गर्न नरम कपडाले पुछ्ने । राति सुत्नुअघि पेट्रोलियम जेली लगाउने । यदि दुवै ओठ मिलेको छ भने लिप पेन्सिल आउट लाइन दिएर लिपिस्टिक प्रयोग गर्नुपर्छ । लामो समय टिकाउन लिपिस्टिक लगाउनुअघि फाउन्डेसन लगाउने । कुन कलरको लिपिस्टिक लगाउने हो त्यो भन्दा हल्का डार्क कलरको लिप लाइनरले ओठलाई सेप दिने र लिपको सेपअनुसार ब्रसको सहायताले लिपिस्टिक लगाउने ।

नेल आर्ट
अन्य मेकअप संगसंगै नङ पनि आकर्षक देखिनु जरुरी हुन्छ । यदि आफ्नो नङ राम्रो छैन भने फ्रेन्च नेल बनाउँदा नङ सफा देखिन्छ । नङलाई आकर्षक देखाउन नेल आर्ट गर्न सकिन्छ । नेल आर्ट तथा पेन्टिङका सौखिनहरूले टेम्पोररी नेल आर्ट गराउनु उपयुक्त हुन्छ । यस्तै पर्मानेन्ट नेल आर्ट व्यस्त महिलाहरूका लागि उपयुक्त मानिन्छ । यो सफा, डिसेन्ट तथा स्टान्डर लुक्स दिने खालको हुन्छ । नेल आर्ट पानी खेल्दा वा लुगा धुँदा पनि जाँदैन ।

हेयर स्टाइल
हेयरमा मेसी बन राम्रो देखिन्छ । कपाल लामो छ भने कर्ल तथा छोटो छ भने स्ट्रेट उपयुक्त हुन्छ । लामो कपालमा मेसी बन खुल्छ ।

फिनिसिङ मेकअप
सबै मेकअप सकेपछि लङ लास्टिङ फिनिसिङ स्प्रे छर्किने । निधारमा भएको टिकाले कहिलेकाहीँ निधारमा एलर्जी हुन सक्ने संभावना भएकाले राम्ररी मेकअप रिमुभरले पुछेर, एकछिन क्लीन्जिङ गरेर फेसवाश गर्ने । त्यसपछि स्किन टोनर र स्किन ब्यालेन्सिङ क्रीम लगाएर सुत्दा स्किन ड्यामेज हुँदैन र हेल्दी पनि देखिन्छ ।

साबधानी
मेकअप गरेको अनुहारमा सुत्नु अगाडी राम्ररी मेकअप रिमुभ गर्ने बानि गर्नु पर्छ । यसो नगरेमा स्किन ड्यामेज हुने तथा स्किनमा अन्य समस्या समेत आउन सक्छ ।