नेपाली सेलिब्रेटीको दशैँ र दक्षिणा अनुभव

दशैँ शब्दले नै हामी नेपालीको मुहारमा खुसी ल्याउने गर्छ । पहेलै धानको बाला झुलेको, खुलेको निलो आकाशमा रंगीबिरंगी चंगा अनि त्यहि मुनी लिंगे पिङ र चहलपहल, सम्पूर्ण नेपालीको साझा पर्व दशैंको बारेमा कुरा गर्दै छौ आज हामी । नेपालीहरुको राम्रो लगाउने र मिठो खाने चाडको रुपमा परिचित दशैं नेपाली फिल्मी क्षेत्रका व्यक्तिहरुको पनि पक्कै नै रमाइलो भएको हुनु पर्छ ।  २०७५ को दशैं अनुभव संगसंगै आज हामी केहि नेपाली सेलिब्रेटीहरुको दक्षिणाको समेत कुरा गर्दै छौ ।

हेरौ कस्तो भयो त सेलिब्रेटीको दशैं :
जितु नेपाल

कलाकार जितु नेपालले यस पटकको दशैं आमा र दाइहरुको हातबाट टिका लगाएर पारिवारिक जमघट बीच मनाए । छक्क पन्जा ३को सफलतामा समेत रमाइरहेका उनको २०७५ को दशैं एकदम रमाइलो भएको उनले बताएका छन् । दशैँमा दक्षिणाको कुरा गर्दा उनले हाल सम्म सबै भन्दा बढी एक हजार रूपैया (१०००) ससुरालीबाट प्राप्त गरेका छन् ।

नम्रता सापकोटा

अभिनेत्री नम्रता सापकोटाले बुटवलमा हजुरआमा बाबा र आमाको हातबाट टिका र आशिर्वाद ग्रहण गरिन् । घर र मामाघरमा यस वर्षको दशैं मनाएकी उनले आफ्नो कुकुर ‘मिल्का’ लाई समेत टिका लगाईदिएको बताइन् । जितु नेपालले झैँ उनको पनि एक हजार रुपैयाँ (१०००)दक्षिणा अहिले सम्म कै सबै भन्दा ठुलो रकमको दक्षिणा रहेको छ । उक्त रकम उनले हजुरआमा र बाबाबाट प्राप्त गरेको बताइन् ।

शिव परियार

गायक शिव परियारको यो बर्षको दशैं रमाइलो भएको उनले बताए । अगिल्लो दशैंमा विदेशमा भएका कारण यो पटक घरमा मनाउदा बर्षौपछी मनाए जस्तो खुसी प्राप्त भएको समेत उनले बताए । उनले यस पटक काठमाण्डौमा परिवारसंग दशैं मनाएका हुन् । दशैंको दक्षिणाको कुरा गर्दा सबै भन्दा बढी रकम ससुरालीबाट प्राप्त गरेका उनले एक हजार रुपैयाँ (१०००)प्राप्त गरेका छन् ।

वर्षा राउत

दशैं मनाउनकै लागि नायिका बर्षा राउत ५ वर्ष पछि सिन्धुली घर गएकी छन् । “पुरा राउत खलकसंग दशैं मनाएँ । जमघटमा धेरै रमाएँ ।” उनले बताइन् । उनलाई दशैंमा अहिले सम्मकै बढी दक्षिणा दुई हजार रुपैयाँ (२०००)बाबाले दिनुभएको छ ।

सुरक्षा पन्त

कलाकार सुरक्षा पन्तले यस बर्षको दशैँ बुटवलमा मनाइन् । दशैं अनुभव बारे उनले आफु पहिला सुरक्षा मात्रै भएको र फिल्मी क्षेत्रको प्रवेस संगै नामको अगाडी कलाकार थपिएका कारण केहि खास भएको बताइन् । यस पटकको दशैँमा उनले परिवार र आफन्तका बीच आफ्नै अभिनय रहेका गीतहरु बजाएर नाचेर, मिठो मिठो परिकार खाएर बिताइन् । उनको मामाघरमा मामाले  दिनु भएको पच्चिस सय रुपैयाँ (२५००)नै अहिले सम्मको दशैंको बढी दक्षिणा थियो ।

नीता ढुंगाना

हेटौडामा बुबाको हातबाट टिका लगाएकी नीता ढुंगानाको दशैं सधै झैँ रमाइलो भएको बताइन् । दशैं भन्न साथ छुट्टै इनर्जी आउने समेत उनले थपिन् । दशैँको दक्षिणाको कुरा गर्दा यस पटक बुवाले दिनुभएको चारसय पचास रुपैयाँ (४५०) नै आज सम्मको बढी भएको समेत बताइन् ।

रीचा शर्मा

“दशैँ हरेक बर्ष खल्लो हुदै गएको छ । सबै कुरा कमर्सियल हुदै गएको छ केहि पनि अर्ग्यानिक छैन । बिगतका केहि दशैंहरु नै रमाइलो छैन ।” कलाकार रिचा शर्माले थपिन्,”बिदेशिनु पर्ने बाध्यताका कारण नेपालीको परिवार नै अपूर्ण छ । त्यसैले पहिला जस्तो रमाइलो छैन ।” बाबाको मृत्युपछि बिगत १० वर्षबाट धनगढी घर भएकी उनी काठमाडौँमा नै दशैं मनाउदै आएकी छन् । दशैँको दक्षिणाको कुरा गर्दा अहिले सम्म भिनाजुले दिनु भएको  तिन हजार रुपैयाँ (३०००) उनले सम्झिइन् ।

दिपेन्द्र के खनाल

निर्देशक दिपेन्द्र के खनाललाई भने दशैँमा खानपान भन्दा पनि भेटघाटले खुसी बनाउने रहेछ । उनले भने,”भेटघाट हुन्छ आत्मियता बढाउने समय पाए जस्तो लाग्छ । मारकाट खानपिन जुवा तास चै मन पर्दैन ।” रियुनियन नै दशैंको रमाइलो पाटो बताउने उनको अहिले सम्म कै बढी दक्षिणा भने ससुरालीबाट पाएको आठ हजार रुपैयाँ (८०००) रहेछ । समग्रमा उनको पारिवारिक जमघट बीचको काठमाण्डौको दशैं रमाइलो रह्यो ।