‘सम्हालिन्छ कहिले मन’मा पुजाको जोडी सोनम

प्रदीप, पल र आकाश पछी नायिका पुजा शर्माले आफ्नै ब्यानरमा बन्न लागेको फिल्म ‘सम्हालिन्छ कहिले मन’मा नव नायक सोनम तोप्देनसंग अन स्क्रिन रोमान्स गर्ने भएकी छिन् । फिल्म ‘प्रेम गीत’मा नायक प्रदीप खड्कासंग स्क्रिन सेयर गरेकी पूजाले नायक पल शाहसँग चलचित्र ‘म यस्तो गीत गाउँछु’मा काम गरेकी थिइन् भने पछिल्लो समय प्रदर्शनमा आएको फिल्म ‘रामकहानी’मा नायक आकाश श्रेष्ठसँग काम गरिन् । अब उनले फिल्म ‘सम्हालिन्छ कहिले मन’मा नव नायक सोनम तोप्देनसंग स्क्रिन सेयर गर्ने छिन् ।

नेपाली फिल्म क्षेत्रमा स्टार नायकहरु जन्माउन सफल निर्देशक सुदर्शन थापाले ‘सम्हालिन्छ कहिले मन’ निर्देशन गर्नेछन् । हाल गीत रेकर्डिङको काम भइरहेको म्यूजिकल लभ स्टोरी फिल्ममा दुई नायक हुने छन् । सोनम फाइनल भएपनि फिल्ममा अर्का नायक को राख्ने भन्ने टुङ्गो लागेको छैन ।

को हुन् सोनम ?
सोनम भारतको मनालीमा जन्मिएका हुन् । काठमाडौँ, बौद्धमा बस्दै आएका छन् सोनम तिब्बतिएन गायक समेत हुन् । उनी आफैँ गीत लेख्ने तथा संगीत भर्ने समेत गर्छन् । उनले नेपाली, हिन्दी, अंग्रेजीका साथै विभिन्न भाषाका गीतको विभिन्न गीतको कभर गाएका छन् । आफ्नै सांगीतिक एल्बमहरु समेत गाएका सोनमको आवाज रहेका गीत तथा उनले अभिनय गरेका भिडियोहरु यूट्युबमा प्रशस्तै भेटिन्छन् जुन निकै चर्चित समेत बनेका छन् । उनले भारतीय सांगीतिक रियालिटी शो द रिमिक्स्मा समेत सहभागिता जनाएका थिए ।

उनी गायक मात्र नभएर इभेन्ट अर्गनाइजर समेत हुन् । उनले नेपाल मै पनि विभिन्न इभेन्टहरु अर्गनाइज गरिसकेका छन् भने उनि च्यारिटीमा विशेष चासो राख्छन् । उनले च्यारिटीकै लागि विभिन्न देशमा गएर गीत समेत गाएका छन् । हाल उनी कन्सर्टका लागि पेरिसमा छन् । पेरिसको कन्सर्ट सकेर उनी फिल्मका लागि लिखित सम्झौता गर्न नेपाल आउने बुझिएको छ ।