‘छक्का पञ्जा’को १२८ दिने रेकर्ड १७ दिनमै तोडियो

असोज २४ गते घटस्थापनाको दिन देखि प्रदर्शनमा आएकी बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा ३’ले आफ्नै रेकर्ड तोड्दै आएको छ । यस सिरिजको अघिल्लो प्रिक्वेललाई एक दिने कलेक्सनमा उछिनेको थियो । ‘छक्का पञ्जा’ले १५ करोडमाथि कमाई गर्दै नेपाली फिल्म इतिहासमै सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड बनाएको थियो । त्यो रेकर्ड राख्न फिल्मले १२८ दिन कुर्नु परेको थियो । ‘छक्का पञ्जा’को तेश्रो सिक्वेल ‘छक्का पञ्जा ३’ले भने यो रेकर्ड प्रदर्शनको १७ दिनमै तोडेको छ ।

फिल्म वितरकहरुले दिएको जानकारीलाई आधार मान्ने हो भने फिल्मले प्रदर्शनको १७ दिन पुरा गर्दा कुल १६ करोड माथिको ग्रस कलेक्सन गर्न सफल भइसकेको छ । ‘छक्का पञ्जा ३’को यो कलेक्सनले फिल्मलाई नेपाली फिल्म इतिहासमा सर्वाधिक कमाई गर्ने फिल्मको रुपमा स्थापित गरिसकेको छ । अझै पनि देशभर हाउसफुलका साथ् प्रदर्शन भइरहेको फिल्मको लाईफटाइम कलेक्सन कति हुनेछ भन्ने कौतुहलता पछिल्लो समय नेपाली फिल्म वृत्तमा देखिएको छ ।

दीपाश्री निरौला निर्देशित फिल्ममा दिपक राज गिरी, दिपिका प्रसाई, जितु नेपाल, केदार घिमिरे र बुद्धि तामाङ, दिपाश्री निरौला, किरण केसी, शारदा गिरी, स्वस्तिमा खडका, विल्सन विक्रम राई, पियंका कार्की, सन्जोग कोइराला, शिवहरी पौडेल, अनुरागमान सिंह कुँवर, निर शाह, लक्ष्मि गिरी लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ ।