निकेशको निर्देशनमा ‘मेरो साथी काल’

- मेराेफिल्म

पछिल्लो समय फरक किसिमको गीतसंगीत रचना र त्यसको भिडियोलाई निर्माण गर्दै आइरहेका गीतकार मनिष वशिष्ठले सर्ट फिल्म ‘मेरो साथी काल’ लिएर आएका छन् । पछिल्लो समय पखेटा र मुखौटा जस्ता फरक शैलीको गीतपछि उनले यो सर्ट फिल्म लिएर आएका हुन् । यसमा रङ्गकर्मी जीवन भट्टराई र दिपेन्द्र शाहीको अभिनय रहेको छ । स्टोरी कन्सेप्ट अनुसार नै यी दुई भिडियोमा प्रस्तुत भएका छन् ।

यसको लेखनमा मनिषलाई रङ्गकर्मी लक्ष्मी बर्देवाले साथ दिएकी छिन् । यसमा ब्याकग्राउण्ड स्कोर ऋदम कँडेलको रहेको छ भने यसलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन् । यसलाई रुपेश खड्काले सम्पादन गरेका हुन् भने यसको निर्देशक निकेश खड्का हुन् । म्युजिक भिडियो निर्देशन हुँदै फिल्म समेत निर्देशन गरिसकेका निकेशले यसलाई पृथकशैलीमा निर्माण गरेको बताएका छन् । यसमा कालसँगको भेटलाई देखिएको छ । असन्तुष्ट कविले जीवनको उतराद्धमा भएपनि काललाई भेटेर रचना गर्ने कविता र काल प्रतिको मानसिकतालाई भिडियोमा विम्बको रुपमा चित्रण गरिएको छ ।

निकेश सर्ट फिल्म मार्फत निकै आशावादी छन् । उनले भने, ‘पछिल्लो समय म्युजिक भिडियो भन्दा केही फरक गर्ने प्रयास हो, यो सर्ट फिल्म । मैले धेरै भिडियोको निर्देशन गरे तर यो टिमसँग काम गर्दा फरक नै हुँदै गयो । यही टिमसँग मैले मुखौटा, पखेटा लगायतका भिडियो तयार गरिसकेको छु, जुन मेरो अन्य भन्दा फरक छ । यो पनि त्यसैको निरन्तरता हो । हामीले परिस्थितिलाई सिम्बोलिक रुपमा देखाउने कोसिस गरेका छौँ । भिडियोले एक किसिमको सोच सिर्जना गर्छ भन्नेमा आश्वादी छु ।’

सर्ट फिल्मको बारेमा वशिष्ठ भन्छन्, ‘यसलाई सुरुवातमा गीत मात्र बनाउने कि भन्ने सोचाइ नआएको होइन तर डेभलप हुँदै गएपछि यसले सर्ट फिल्मको रुप लिएको हो । मेरो रचनामा तयार भएका अघिल्ला गीतहरु फरक नै छन्, जसलाई मैले युट्युब एमबी क्रिएसन मार्फत ल्याएको छु । दर्शकबाट आउनेप्रतिक्रियाले हामीलाई अगाडी बढ्न अझै हौसला मिल्छ भने मार्गदर्शन पनि पाइन्छ ।’

२०७५ कार्तिक १३ गते १६:२८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *