‘लभ पनि गरें, फिल्म पनि हेरें’ – सुविन भट्टराई, उपन्यासकार

- श्रीधर पौडेल/मेरोफिल्म/ आर्काइभ

साहित्यका सेलिब्रिटी हुन् सुविन भट्टराई । युवा ढुकढुकी समातेर उनले लेखेका उपन्यास आम युवा पाठकले यस्तरी मन पराइदिए कि रातारात उनी सेलिब्रिटी बने । साहित्य क्षेत्रमा लागेर राम्रा पुस्तक लेख्ने तर पाठकसँग अन्तर्कृयामा आउन नसक्ने थुप्रै गुमनाम लेखकका बीच सुविन यस्ता लेखक हुन् जो पुस्तक र पुस्तकबाहिर सधैं पाठकसँगै घुलमिल गरिरहन्छन् । यसले उनको क्रेज साहित्यमा मात्र होइन, बाहिर पनि क्रमशः बढाउँदै छ ।

समर लभ र सायाजस्ता चर्चित उपन्यासका रचनाकार सुविनको करिअरमा अब युटर्न आउँदै छ । उनको पुस्तक समर लभ अब पढ्न मात्र होइन, दर्शकले हेर्न पनि पाउने भएका छन् । समर लभले उनलाई साहित्यको सेलिब्रिटीबाट चलचित्रको सेलिब्रिटी बनाउने हो कि होइन, त्यो हेर्न केही समय कुर्नुपर्ला । तर, यत्ति सत्य हो, उनीप्रति युवा क्रेजका कारण समर लभ हेर्न लाखौं युवालाई हलसम्म पुग्न बाध्य पार्ने पक्का छ ।
सुविनको चलचित्र क्षेत्रसँगको संवाद निकै रोचक छ । एलकेजीमा पढ्दादेखि नै अर्थात् ५–६ वर्षको उमेरमै एक्लै हलसम्म पुगेर फिल्म हेरेको अनुभव छ उनीसँग ।  ‘हलभित्र के होला भन्ने कौतुहलले सानैमा त्यहाँसम्म पुर्यायो’, उनले त्यो रोचक सम्झना सुनाए, ‘एलकेजीमा पढ्दै थिएँ, फिल्म हेर्न घरबाट भागेर हलसम्म पुगेँ तर मसँग पैसा थिएन । बिनापैसा, बिनाटिकट एउटा मान्छेको पछि लागेर हलभित्र छिरेको थिएँ ।’  सुविन स्कुल र घरमा समेत नभेटिएपछि हंगामा भयो । लौ हरायो भनेर रेडियोमै सूचना दिनुपर्ने अवस्था झन्डै–झन्डै आएको उनी कहिल्यै बिर्सन सक्दैनन् । त्यसपछि त भागीभागी फिल्म हेर्न जाने उनको आदत नै बस्यो । कुमारी, जयनेपाल त कहिले बालाजुसम्म पुग्थे रे । ‘हाम्रो घर कपनमा बनेपछि भने गोपीकृष्णमा हेर्न थालेँ,’ उनले सम्झिए, ‘गोपीकृष्णमा पहिलो फिल्म गोपीकृष्ण नै हेरेँ । घरनजिक भएकाले एकैदिन ३ वटासम्म हेर्थें ।’ खाजा खाने पैसा बचाएर खुब फिल्म हेरे उनले । ‘अहिले पनि गोपीकृष्ण हलअगाडि पुग्दा अर्कै फिल हुन्छ,’ भन्छन्, ‘गाडीबाट झरेर हलभित्र छिरिहालूँ जस्तो लाग्छ ।’
कहिले बुबाको खल्ती त कहिले आमाको पोल्टाबाट पैसा निकालेर फिल्म हेर्न जान्थे । कलेज पढ्न थालेपछि भने पैसा बचाएर हेर्न जाने बानी प¥यो । ‘पुराना पत्रिका, खाली सिसी बेचेर पनि पैसा जुटाउँथेँ फिल्म हेर्न,’ फिल्मप्रतिको उनको क्रेजले कहिलेकाहीँ बाआमाको कुटाइ पनि खानुपरेको उनीसँग अनुभव छ ।

बुबाको जागिर झापा बिर्तामोडमा थियो । त्यसैले उनी बिदामा तराई जान्थे । त्यहाँ शिवदर्शन, अन्नपूर्ण, उर्बसीजस्ता हल थिए । ‘त्यहाँ गएर पोस्टर मात्रै हेर्दा पनि छुट्टै आनन्द हुन्थ्यो, लहरै २०-२५ वटा फिल्मका पोस्टर हुन्थे । हरेकलाई ३ मिनेट टाइम लिँदै हेरिन्थ्यो ।’
बलिउडका महसुर नायक मिथुनका फिल्म खुब मन पराउँथे उनी । हिरोले बन्दुक कसरी बोकेको छ, टीका कसरी लगाएको छ, डाँकु, घोडाहरु हेरेर दंग पर्थे । ‘हलमा मधेसीमूलका मान्छेहरु मार् मिथुन मार् भनेर चिच्याउँथे, म पनि त्यसमा स्वर मिसाउँथेँ,’ उनी ती दिन कहिल्यै भुल्न सक्दैनन् ।
उमेरसँगै चाहना पनि बदलिँदै गयो । अब उनी फिल्म छानीछानी हेर्न थाले । केही नबुझ्ने इंग्लिस फिल्म पनि उनको छनोटमा पर्थे । ‘अझै पनि म सबटाइटलमा यस्ता फिल्म हेर्छु,’ भन्छन्, ‘धेरै कन्सनट्रेसन चाहिन्छ, नत्र सबटाइटल चाहिन्छ ।’ अब उनी नेपालीभन्दा हिन्दी फिल्म बढी हेर्न थाले । मास्टर्स पढ्दा साथीहरुसँग स्पाइडरम्यान, टाइटानिक जस्ता फिल्म हेरे उनले । ‘पछि लार्ज देन लाइफजस्ता कमर्सियल फिल्म हेर्न थालियो । मास्टर्स सकेपछि भने मेरो रुचि बदलिँदै गयो, एक्सन, धुमधडाकाभन्दा स्टोरी भएको फिल्म मन पर्न थाल्यो । इमोसनल फिल्म मन पर्न थाल्यो,’ उनले सुनाए ।
रिभ्यु रेटिङ हेरेर कुन फिल्म हेर्ने नहेर्ने सोच बनाउने उनको बानी छ । घरमा दुइटा कुरा वर्जित थिए । हलमा गएर फिल्म हेर्न र प्रेम गर्न । यसो गर्यो भने लौ यो बिग्रियो भन्थे । त्यसैले उनी प्राय फिल्म हेरेर आएको कुरा सुनाउँदैनथे । सोधिहाले भने अर्कै सिरियस काम गरेर आएको झुट बोल्थे । गर्लफ्रेन्ड लिएर ‘दम लगाके हैंसा’ फिल्म हेर्न हल पुग्दाको सम्झना अझ रोचक छ सुविनसँग । ‘अफिसियल गर्लफ्रेन्ड भएपछि उनीलाई लिएर फिल्म हेर्न गएँ,’ रोमान्टिक हुँदै उनले अतीत सम्झिए, ‘त्यो दिन मैले आफूलाई एक्लै मुस्कुराइरहेको पाएँ । सायद म एकैपटक प्रेम पनि गरिरहेको छु र फिल्म पनि हेरिरहेको छु भनेर दंग थिएँ ।’

घरमा जुन कुरा वञ्चित थियो, उनले त्यही गरे । किन त ? ‘मान्छेभित्र एउटा कुण्ठा हुन्छ, जो मानिसले लुकाउन सक्दैन । दबाउन खोज्दा त्यो विस्फोट हुन्छ,’ उनको जीवनमा पनि त्यही भयो ।
लेखकचाहिँ कसरी बने त उनी । सुविनमा सानैदेखि लेख्ने रुचि थियो । उनी एलकेजी हुँदैदेखि केही लेखिरहन्थे रे । ‘किताब नै लेख्छु भनेर लेख्न थालेको होइन । तर मेरो पहिलो किताव सर्टस्टोरीको कम्पाइलेसनमा आयो, कथा लेख्छु भनेको बुक नै तयार भयो ।’ समर लभजस्तो चर्चित उपन्यास लेख्दा भने उनले खुबै दिमाग लगाएका थिए । ‘यस्तो कथा लेखिन जरुरी छ, जुन धेरै सिम्पल होस्, धेरैले पढून् र प्रेमसँग सम्बन्धित होस् भन्ने सोचेको थिएँ । कलेजमा बिताएका समय। साथीहरुका घटना, प्रेमप्रसंगका यात्रा सम्झिएँ, अनि उपन्यास नै लेख्नुपर्छ भनेर थालेँ,’ उनले सुनाए ।
समर लभ आएपछि उनी एकाएक चर्चित बने । लेखक र प्रकाशित लेखकको फरक उनले महसुस गरे । ‘एउटा लेखकलाई सबैभन्दा बढी खुसी आफ्नो प्रकाशित किताब हातमा लिएर सुम्सुम्याउनुमा हुन्छ,’ भन्छन्, ‘मान्छेहरुले चिन्ने अनुभव छुट्टै भयो ।’

पुस्तकको लोकप्रियता र कथाले धेरैलाई खिच्यो, फिल्म निर्माता र निर्देशकलाई पनि । त्यही कथामा फिल्म बनाउने भनेर फोन बारम्बार आइरहेको थियो । ‘सबैले मागिरहेका छन्, बलात्कर गर्ने हुन् कि, मासु लुछेजस्तो हड्डीलुछेजस्तो भएर कसैले नाम, कसैले डाइलग चोर्देलान् कि भन्ने डर भयो,’ उनले भने, ‘हाम्रो देशमा कपीराइटको दह्रो कानुन छैन । विकास आचार्य दाइहरुबाट अफर भएपछि भने आँखा चिम्लेर दिएँ ।’
किताबलाई फिल्ममा उतार्ने अपजसे काम हो । फिल्म आएपछि उनले धेरै अपजसको भारी बोक्नुपर्ने उनले पहिल्यै अनुमान गरेका छन् । ‘कहिले के मिल्दैन, कैले के मिल्दैन । कलाकारमा पनि कैले के भेटिन्न, कैले के नभेटिएर त पछि फाइनल भएको हो नि,’ उनले सुनाए, ‘फिल्ममा सबै कुरा चित्त बुझ्दैन, इमाजिनेसनसँग फिल्म मिल्दैन ।’  यद्यपि, उनलाई समर लभको मेकिङ चित्त बुझेको छ । तर सोचेअनुसार फिल्म आएन भने पाठकको रियाक्सन कस्तो होला त ? भन्छन्, ‘स्टोरीमा डुबेर माफ गर्दिन सक्छन्, पूर्वाग्रही भएर हेर्न पनि सक्छन् । तर पूर्वाग्रह नराखी, इमोसन, कथा, गीत, डाइलग र एक्टिङमा डुब्यो भने माफ गर्दिने विश्वास मलाई छ ।’
समर लभपछि साया पनि पर्दामा आउँछ कि ? भन्छन्, ‘त्यो पहिलो फिल्मको सफलतामा निर्भर हुन्छ ।’

फरक शैली र स्वभावका लेखक हुन् सुविन । उनी लेखकको सर्कलले भने उनलाई त्यति रुचाउन्नन् । कसैले पनि उनलाई आज भेटेर चिया खाऊँ भन्दैनन् रे । बरु झुर राइटर भन्छन् रे । ‘म सुनिरहेको हुन्छु तर मतलब राख्दिनँ,’ उनले भने, ‘मलाई चिन्ता उनीहरुको हैन, मलाई माया गर्ने पाठक र भविष्यका दर्शकहरुको मात्र छ ।’  नेपाली फिल्मको अवस्थाबारे भने सुविन निकै चिन्तित छन् । ‘दयनीय लाग्छ । कुनै फिल्मले मलाई सन्तुष्टि दिएका छैनन्, ‘कमर्सियल्ली त चल्छ, हिट हुनुलाई म पोजिटिभ्ली नै लिन्छु । दर्शक छन्, उनीहरुलाई होल्ड गर्नुपर्छ । मलाई पो चित्त बुझ्दैन त । मेरो कारण फिल्म नचलोस् भन्न त भएन नि ?’लिटरेचर र फिल्म नजिक छजस्तो लाग्छ उनलाई । हलबाट निस्केर एउटा दर्शकले गर्वसाथ राम्रो भन्न सकोस्, वश उनी यस्तै फिल्म बनोस् भन्ने चाहन्छन् । त्यसका लागि सबैभन्दा बढी कथामा ध्यान दिनुपर्ने उनले सोचेका छन् ।
‘स्क्रिप्ट राम्रो हुँदा कुनै बाटोमा हिँडिरहेको केटालाई ल्याएर खेलाए पनि राम्रो फिल्म बन्छ भन्नेमा म विश्वस्त छु ।’

२०७५ कार्तिक ६ गते ८:३९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *