महिला सशक्तिकरणको आवाज उठाउदै ‘मालिका’

रेखा थापा निर्देशित फिल्म ‘मालिका’ प्रदर्शनको क्रममा छ । छोरीका लागि स्वर्णिम नेपाल अभियानअन्तर्गत बनेको फिल्म ‘मालिका’ ले महिला हिंसा र बालविवाहको बिषय बस्तु समेटेको छ महिलालाई केन्द्रमा राखेर फिल्म निर्माण गर्दै आएकी रेखा थापाको यस फिल्ममा पनि अन्य फिल्ममा झैँ मुख्य पात्र महिला नै रहेकी छन् । अगिल्ला फिल्महरुमा आफुलाई मुख्य भूमिकामा देखाउदै आएकी उनले यस फिल्ममा केहि भिन्न गर्ने प्रयास गरेकी छन् । उनले आफुलाई निर्देशन तर्फ ढालेर मुख्य भूमिका भने जाजरकोटकी १५ बर्षीय कमला वलीलाइ सुम्पेकी छन् ।

यतिबेला विभिन्न ठाँउमा फिल्म मालिकाको ‘च्यारिटी शो’ र विशेष शो भइरहेका छन् । बुधबार साँझ राजधानीको कुमारीहलमा ‘जोन्टा क्लब’ को आयोजनामा एक विशेष शोको आयोजना गरिएको थियो । उक्त शोमा समाजसेवी, महिला अधिकारकर्मी, साहित्यकार तथा नेपाली अभिनेत्रीले उपस्थिति जनाएका थिए । फिल्म हेरेर फर्किएकाहरुबाट फिल्मका बारेमा सकारात्मक प्रतिक्रिया आएको छ ।

अभिनेत्री करिश्मा मानन्धरले मालिका फिल्म नभएर मोटिभेसनल क्लास झैँ भएको बताएकी छन् । फिल्म तथा  स्वर्णिम नेपाल अभियानअन्तर्गत रहेर बाल विवाह तथा महिला सह्सक्तिकरणका बिषयमा आवाज उठाउदै आएकी रेखाको प्रयास प्रसंसायोग्य रहेको प्रतिक्रिया आउन थालेको छ ।

फिल्ममा कमलालाई नै अभिनय गर्न लगाउनुको कारण बारे एक पत्रिकामा अन्तरवामा उनले भनेकी छन्,’फिल्मको नायकत्व कथामा छ । पात्रका रूपमा कमलाले त्यसलाई बोकेर हिँड्नेछिन् । यो फिल्म त्यस्तो समाजको तलाउमा तरंग उत्पन्न गराउने ढुंगा हो, जहाँका महिला, बालिकाहरूले आफूलाई बाहिरी संसारले बिर्सिएको ठान्छन् र आफैंलाई दबाएर राखेका छन्  ।’ उनले फिल्म रिलिजपछि समाजमा गिन्तीमा नआउने थुप्रै कमलाहरू अग्रपंक्तिमा आउने दाबी समेत गरेकी छन् ।