सन्नीको ट्विटमा अर्जुन भन्छन्, ‘गर्व लागेको छ’

बहुचर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको फिल्म ‘पासवर्ड’ को ‘आजको साम बेबी’ गीतमा बलिउड सुन्दरी सन्नी लियोनीले न्रित्य गर्दै छिन् । सन्नीले उक्त गीत सुनेर आफु निकै उत्साहित रहेको भन्दै ट्विट गरेकी छिन् । उनले लेखेकी छिन्, ‘बहु प्रतीक्षित नेपाली फिल्म पासवर्डमा समावेश एक डान्सिङ फ्लेभरको गीतसंग जोडिन पाउँदा म निकै खुसी छु ।

सन्नीको यो उत्साहित ट्विट प्रती प्रतिक्रिया दिँदै संगीतकार पोखरेलले भने , ‘पहिलो कुरा त सन्नी लियोनीले जुन सफलता बलिउडमा हाँसिल गरेर आफ्नो फ्यान फलोअर्स सर्कल बनाउनु भएको छ त्यो बिचमा ‘आउँदै गरेको नेपाली फिल्म’ भनेर सम्बोधन गर्दै ट्विट गर्नु नै हाम्रो लागि ठुलो कुरा हो । अर्को तर्फ हामी सिर्जना गर्ने मानिस हौँ । आफ्नो सिर्जनाको प्रसंसा हुँदा खुसी नहुने कुरै भएन । म गर्व गर्छु यो कुरामा कि हामीले ६०% मात्र सकेर पठाएको रअ फाइलले नै उहाँलाई यती धेरै उत्साहित बनाएछ । र अर्को कुरा ममा अझै चुनौती थपिएको छ, यो गीतको फाइनल आउटपुट उत्कृष्ट बनाउनका लागि । मलाई के लाग्यो भने हाम्रो सिर्जना पनि कसैको भन्दा कम रहेनछ । अवसर पाउने हो भने हामीले गरेका सिर्जनाले पनि उच्च पहिचान पाउने रहेछन् । आफ्नो छुट्टै पहिचान बनाउन सफल सन्नीको त्यो ट्विटले अझै धेरै उत्साहित बनाएको छ ।’

फिल्ममा कोरियोग्राफरका रुपमा रहेका रामजी लामिछानेले यो गीतको कोरियोग्राफी गर्ने या भारतीय कोरियोग्राफर राख्ने भन्ने बिषयमा भने अझै टुंगो लागेको छैन ।

अर्जुनको संगीत रहेको उक्त गीतमा दुर्गा खरेलको स्वर रहेको छ भने एरेन्ज महाराज थापाले गरेका हुन । गीतमा शब्द विक्रम जोशीको रहेको छ । जोशी फिल्मका निर्माता समेत हुन् । अमित बस्नेत र हिरल जोशीको समेत लगानी रहेको फिल्ममा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परी राना लगायतको अभिनय रहने छ । लण्डनसँगै बर्नमाउथ र ससेक्स लगायतका स्थानहरुमा फिल्म खिचिने बताइएको छ ।

२०१९ को सुरुवातमा रिलिज टार्गेट गरिएको फिल्ममा सन्निले एक आइटम दृश्य दिनेछिन् भने फिल्ममा केही सिन हुनेछ । एबि इन्टरटेन्मेन्ट र अडबल मोसन पिक्चर्सको ब्यानरमा बन्ने फिल्मलाई सौरभ लामाले खिच्नेछन् भने कोरियोग्राफी रामजी लामिछानेको रहने छ ।