नेपाल टेलिभिजनमा ‘मुन्द्रेको कमेडी क्लब’

हास्यकलाकार जितु नेपाल टेलिभिजनमा फर्किएका छन् । ‘मुन्द्रेको कमेडी क्लब’ नामक स्केच कमेडी र सेलिब्रेटी टक सो फर्म्याटमार्फत उनी टेलिभिजनमा देखिन लागेका हुन् । अब उनी यस कार्यक्रम मार्फत हरेक हप्ताको सोमबार साँझ ८:५० बजे एनटिभीमा देखिने भएका छन् ।

‘जिरे खोर्सानी’ मार्फत चर्चामा आएका नेपाल फिल्म छाकापन्जा टिमको हिस्स बन्दै आएका थिए । शनिबार पाँचतारे होटल अन्नपूर्णमा पत्रकार सम्मेलन गर्दै कमेडी क्लबको औपचारिक जानकारी गराइएको थियो । दीपकराज गिरी, शिव परियार, केकी अधिकारीलगायत कार्यक्रमको अतिथी बनिसकेका छन् । क्लबको अध्यक्षमा हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौला रहेकी छन् । कार्यक्रम ‘दि कपिल शर्मा सो’ बाट प्रभावित छ । क्लबकी अध्यक्ष दीपाश्री भन्छिन्, ‘विदेशी सो बाट प्रभावित भएपनि कमेडी क्लब नेपालीपनमा तयार हुन्छ ।’

‘मुन्द्रेको कमेडी क्लब’ लाई सञ्चारकर्मी रवि श्रेष्ठले निर्देशन गर्नेछन् । ‘जिरे खुर्सानी’ बाट स्थापित ‘मुन्द्रे’ नामबाट कार्यक्रमको नामाकरण गरिएको कमेडी क्लबका सञ्चालक जितु भन्छन्, ‘म टिभीबाट जन्मिएको कलाकार हुँ । फिल्मबाट दर्शकमाझ पुगिरहे पनि धेरैको आग्रह टिभीमा फर्किनु पर्यो भन्ने थियो । र, एउटा नौलो र रमाइलो सो लिएर फर्किएको छु ।’ ‘मुन्द्रेको कमेडी क्लब’ मा जितु संगै राजाराम पौडेल, राजेन्द्र नेपाल, उमेश राई (फुलन्देकी आमा) लगायतका कलाकारहरु समेत रहेका छन् ।