सारेगमप टप १५मा ‘मेनुका पौडेल’

मेनुका पौडेल । अब चिनाई रहनु पर्ने नाम पक्कै रहेन । नेपाली साङ्गीतिक रियालिटी शो नेपाल आइडलमा प्रतिस्पर्धा गरेर उनले नेपाली संगीतको फाँटमा आफ्नो छुट्टै पहिचान स्थापित गराउन सफल भैसकेकी छिन् । नेपाल आइडलको प्रतिस्पर्धामा टप ११ सम्म पुगेकी उनी त्यहाँ बाट विदाई हुँदा धेरैको मन रोएको थियो । उनी त्यहाँबाट बाहिरीइसके पछी उनको स्वरमा रहेका धेरै गीत बजारमा आए । तर उनले गाएका गीतले सोचे अनुरुपको सफलता भने पाउन सकेका छैनन् ।

सुमधुर स्वर, नम्र अनि मिजासिलो बोली, संगीत प्रतिको लगाव मेनुकाका खासियत हुन् । एक मन्दिरमा भजन गाउँदै गरेको अवस्थामा उनको स्वरबाट प्रभावित भई काठमाडौँमा स्थाई बासिन्दा रहेका एक परिवारले उनलाई धर्म छोरी बनाएर राखेका छन् । उनै धर्म आमा बाबुको साथ सहयोग नै उनको साङ्गीतिक यात्रा अगाडी बढ्ने माध्यम बन्यो । उनले छोटो समयमा पाएको चर्चाले उनको शारीरिक अशक्ततालाई बिर्साएको थियो ।

जन्मदा देखि नै आँखा देख्न नसक्ने उनको साङ्गीतिक रुचीले उनलाई आज भारतीय चर्चित साङ्गीतिक रियालिटी शो सारेगमप सम्म पुर्याएको छ । उनी अडिसन राउण्डहरु पार गरि टप १५का लागि छानिएकी छिन् । उनी टप १५मा छानिँदै गर्दा सामाजिक सञ्जालहरुमा उनलाई बधाईको ओइरो लागेको छ । बधाईको ओइरो मात्र होइन नेपालले मेनुका जस्तो प्रतिभा चिन्न नसकेको भन्ने प्रतिक्रियाहरु पनि आउन थालेको छ । प्रथम चरणको अडिसनमा नै निर्णायकहरुको स्टाण्डिङ अभिएसन पाएकी मेनुकाको सारेगमप यात्रा निकै अगाडीसम्म पुग्ने आशा गर्न सकिन्छ ।

सारेगमपले यस अघि नेपाल अडिसन गरेको थिएन । यस सिजनमा सारेगमपले प्रि अडिसन नेपालमा पनि आयोजना गरेको थियो जसबाट मेनुका छानिएकी हुन् । अब मेनुकाको सारेगमप यात्राले कुन मोड लिन्छ त्यो भने पछी थाहा होला तर यो फड्कोले उनको साङ्गीतिक करियरमा भने पक्कै एउटा इट्टा थपेको छ ।