हङकङमा ‘एभरेष्ट इन्टरनेशनल फिल्म अवार्ड’ हुँदै

एभरेष्ट इन्टरटेन्मेन्ट कम्पनी लिमिटेडको आयोजनामा हङकङमा ‘एभरेष्ट इन्टरनेशनल फिल्म अवार्ड’ हुने भएको छ । सन् २०१९ को जुनमा हुने उक्त अवार्डमा २१ विधामा पपुलर अवार्ड प्रदान गरिनेछ । सन् २०१८ मा रिलिज भएका नेपाली फिल्महरुले यो अवार्डमा सहभागीता जनाउन सक्नेछन् । हङकङको ‘क्विन एलिजावेथ स्टेडियम’मा यो अवार्ड आयोजना हुने आयोजकले आज हङकङमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ ।

अवार्डको नेपाल संयोजन भने संगिक्षा फिल्म्सले गर्नेछ । यो अवार्डमा फिल्म क्षेत्रमा विशेष योगदान पुर्याएका एक फिल्मकर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिनेछ ।

अवार्ड प्रदान गरिने कुल २१ विधाहरुमा पपुलर फिल्म, पपुलर नायक, पपुलर नायिका, पपुलर निर्देशक, पपुलर जुरी अवार्ड, पपुलर हाँस्य कलाकार, पपुलर खलनायक, पपुलर नव–नायक, पपुलर नव–नायिका, पपुलर छायांकार, पपुलर लेखक, पपुलर सह अभिनेता, पपुलर सह अभिनेत्री, पपुलर संगीतकार, पपुलर गायक, पपुलर गायिका, पपुलर गितकार, पपुलर चरित्र अभिनेता, पपुलर चरित्र अभिनेत्री रहेका छन् ।

नेपालबाट ६० जना कलाकार, प्राविधिक, पत्रकारको टोली अवार्डमा सहभागी हुनेछ ।