भ्यालेन्टाइनमा माया बाँड्दै ‘समर लभ’

सुबिन भट्राईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित फिल्म ‘समर लभ’ माघ २५ मा हलमा लाग्ने भएको छ । निर्माण टिमले फिल्मको फस्ट लुक सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार सुरज सिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया र रेवती क्षेत्री अटाएका छन् ।

फिल्मबाट आशिष र रेवतीले डेब्यु गर्दैछन् । फिल्ममा आउनु अघि आशिषको पृष्ठभूमि मोडलिङ हो भने रेवती भारतको तर्फबाट मिस इन्टरनेसनल विजेता हुन् । उनले भारतमा केही फिल्ममा अभिनयको अनुभव संगालिसकेकी छिन् । रेवतीले यसअघि ‘ग्याङग्स अफ नर्थवेस्ट’,’खातुन’, ‘ह्याप्पी फिर भाग जाएगी’ जस्ता फिल्ममा काम गरिसकेकी छिन् ।

फिल्मको निर्देशन मुस्कान ढकालले गरेका हुन् । उनले यसअघि ‘नाइँ नभन्नू ल’ सिरिजको तेस्रो भाग निर्देशन गरेका थिए । फ्लोरमा गएको लगभग एक वर्षपछि फिल्म हलमा आउन लागेको हो । निर्देशक ढकालले विदेशको सुटिङ र फिल्ममाथिको अपेक्षालाई पूरा गर्ने गरी तयार गरिरहँदा समय लागेको बताए । ‘किताबको हाइप पूरा गर्न पनि फिल्ममा धेरै मेहनत गर्नुपर्ने थियो । अब हामी दर्शकलाई अपेक्षा गरे अनुरुपको फिल्म पस्कन तयार छौं’, ढकालले भने ।

सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने फिल्मको संवाद सुबिन र सामीप्य मिलेर लेखेका छन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् । स्वपन सरकार र मनोज बिक सहनिर्माता रहेको फिल्ममा एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् । पुष्पन प्रधानको संगीत सञ्जय लामाको छायांकन रहेको फिल्म अर्जुन जिसीले सम्पादन गरेका हुन् ।