आर्यनको दाह्री, नहोस् है भारी

अभिनेता आर्यन सिग्देललाई भेट्ने जो कोही पनि झ्याप्प दाह्री पालेको देखेर अचम्मित हुन्छन् । आर्यन सिग्देललाई दर्शकले यस्तो भेषमा देखेका थिएनन् । आर्यन सिग्देलको दाह्री अवतारले अहिले फेसबुकतिर पनि हल्ला कमाइ रहेको छ ।

आफ्नो होम प्रोडक्शनमा फिल्म कायरा बनाएपनि नचलेपछि आर्यन सिग्देलले आफ्नै बोली फेरेर बाहिरी ब्यानरको फिल्ममा काम गर्न लागेका छन् ।

निर्देशक विकासराज आचार्यको निर्देशनमा बन्न लागेको हजार जुनी सम्म फिल्ममा आर्यन सिग्देलको चकलेटी अनुहार हेर्न दर्शकले पाउने छैनन् भन्ने त उनको दाह्री र जुंगा पालेको अनुहारले पनि थाहा हुन्छ । फिल्मका लागि अर्का एक हिरो छन्, विदेशका ।

विकास आचार्यले १२ लाख दिएर आर्यनलाई फिल्ममा संझौता गराएका हुन् । आर्यन सिग्देलले फिल्मका लागि लामो दाह्री पाल्नुपर्नेछ । यसैका लागि उनले आफूलाई नै नचिनिने बनाइसकेका छन् ।

तर, आर्यनलाई दर्शकले चकलेटी फेसमा मन पराएका थिए । दाह्री पालेको अनुहारमा दर्शकले आर्यनलाई मन पराउने र नपराउने २ वटै बाटो छन् । आर्यनको यति लामो दाह्री, उनका लागि नै भारी नहोस् । हामी त यत्ती नै कामना गरौ ।