छुट्टीए आँप जोडी, फाइदा होला कि घाटा ?

केही समय अगाडी सम्म आँचल शर्मा र पल शाह एक अर्काका परिपुरक जस्तै देखिन्थे । एकसाथ फिल्म अनि म्युजिक भिडियोमा काम गरेको हामी सबैले देखेका पनि हौँ । फिल्मी बजारमा आँचल बिना पल र पल बिना आँचलको जोडी कसैसंग मिल्दैन भन्ने हल्ला पनि नचलेको होइन ।

यी दुई प्रेममा छन् भन्नेहरुको पनि छन् । यती सम्म कि यि दुईको विवाह भएको हेर्न चाहने दर्शकहरुको पनि कमि थिएन र छैन पनि । विभिन्न मिडियामा उनीहरुको विवाहको हल्ला नचलेको पनि होइन । तर उनीहरु स्वयमले भने आफुहरु प्रेममा रहेको कुरा खुलाएका छैनन् । एक अर्काको राम्रो साथी हौँ भन्दै आएका छन् । यी दुई जोनी जेन्टल मेन, नाई नभन्नु ल ४ र शत्रु गते फिल्ममा एक अर्काको जोडी भएर काम गरेका थिए ।

केही समयको फिल्मी ब्रेक पछी हाल उनीहरु पुन फिल्मी पर्दामा फर्किएका छन् । तर उनीहरु एकसाथ भने देखिने छैनन् । फिल्मी पर्दामा भने आँप जोडीको बिछोड भएको छ । पल मिलन चाम्सको फिल्म ‘वीर बिक्रम २’मा अनुबन्ध भएका छन् भने आँचल किरण केसीको फिल्म ‘दाल भात तरकारी’मा ।

पलले वीर बिक्रम २ मा नायिका बर्षा सिवाकोटी संग स्क्रिन सेयर गर्दै छन् भने आँचलले दाल भात तरकारीमा नायक पुष्प खड्कासंग अन स्क्रिन रोमान्स गर्दै छिन् । गजबको संयोग मान्नु पर्छ यी दुई अनुबन्ध भएको फिल्ममा अन्य दुई कलाकारले छोडेको भूमिकामा देखिनेछन् । पल शाहले गर्न लागेको फिल्म नायक आकाश श्रेष्ठले छोडेका हुन् भने आँचलले गर्न लागेको फिल्म नायिका स्वस्तिमा खड्काले छोडेकी हुन् । यी दुवैले कलाकारको हुलमूल भएको फिल्ममा अभिनय नगर्ने बताउँदै आएका थिए ।

तर, अहिले आएर उनीहरु दुवै मल्टी स्टारर फिल्ममा अनुबन्ध भएका छन् । यी दुईले संगै काम गरेको फिल्म व्यवसायिक रुपमा उती सफल नभएपनि फिल्मी जोडीको रुपमा भने सफलता हाँसिल गरेका थिए । अहिले आएर फरक फरक फिल्ममा अनुबन्ध भएको आँप जोडीलाई एक अर्काको साथ बिना फाइदा होला कि घाटा ?