बिपिन कार्की सवारी दुर्घटनामा, खुट्टाको अपरेसन गर्ने तयारी हुँदै

सवारी दुर्घटनामा परेका अभिनेता विपिन कार्कीको दाहिने नलिखुट्टाको हड्डी क्र्याक भएको छ । हाल उनलाई बयोधा अस्पतालको पोस्ट अपरेटिभ वार्डमा राखिएको छ । उनको खुट्टाको हड्डीको क्रयाक जोड्नका लागि अपरेसन गरेर स्टिल हाल्ने तयारीमा उपचारमा संलग्न डाक्टरको टिम लागेको छ । उनलाई केही समय पोस्ट अपरेटिभ वार्डमा राखेर अनि खुट्टाको अपरेसन गरिनेछ ।

फिल्म ‘जात्रै जात्रा’को छायांकन स्थलमा जाँदै गर्दा कार्कीलाई मंगलवार बिहान कालिमाटीमा मोटरसाइकलले ठक्कर दिएर फरार भएको थियो । ठक्कर दिने व्यक्तिको पहिचान नजिक पुगेको फिल्मका निर्देशक प्रदिप भट्टराईले जानकारी दिएका छन् ।

विपिन दुर्घटनामा परेसंगै फिल्मको छायांकन प्रभावित बनेको छ । कुल ३५ दिनको सुटिङ सेड्युल रहेको फिल्मको १० दिनको छायांकन सकिएको छ । अझै २५ दिनको सुटिङ सेड्युल बाँकी रहँदा विपिनको दुर्घटनाले फिल्मको छायांकन रोकिने सम्भावना देखिएको छ ।