अनमोलसँग चाहना, पलसँग बाहना

निर्देशक मिलन चाम्सले लगातार ३ फिल्म असफल भएपछि अभिनेता अनमोल केसीलाई राखेर ब्याचर बन्टी बनाउन लागेका थिए । अनमोललाई हिरो राखेर आफ्नो असफल फिल्मको यात्रालाई विश्राम लगाउने र हिट निर्देशक बन्ने उनको योजना थियो । तर, अनमोलले समय नदिएपछि उनको योजना असफल भयो । यसैले उनी थन्काएर राखेको प्रोजेक्ट विर विक्रम २ बनाउनतिर लागे ।

विर विक्रम २ मिलन अहिले नै बनाउन चाहन्थेनन् । तर, समय र परिस्थितीले पारिदियो त्यस्तै । उनले विर विक्रम २ मा अभिनेता आकाश श्रेष्ठलाई हिरो लिएका थिए । तर, आकाशले पनि छाडेपछि उनले हतार हतारमा पल शाहलाई अफर गरे । ७ महिना फिल्म नै नगरी बसेका पलको दिमागमा खै के विजुली बल्यो र उनी २ दिनमै अफर स्विकार गर्न तयार भए । मिलनका लागि पलले ठूलै राहत दिएका थिए ।

तर, मिलनको चाहना अनमोलसँग फिल्म बनाएर हिट हुने थियो । तर, उनले आकाशले छाडेको कारण देखाएर पललाई फिल्ममा लिए । अनमोलसँग चाहना, पलसँग बाहना नै भनेजस्तो भयो मिलनका लागि ।