अमिताभले तिरिदिए किसानको करोडौं ऋण

भारतीय अभिनेता अमिताभ बच्चनले किसानको करौंडौं बराबरको ऋण तिरिदिएका छन् । उनले किसानको ४ करोडभन्दा बढीको ऋण चुक्ता गरेका हुन् । मंगलबार अमिताभले आफ्नो ब्लगमार्फत जानकारी दिँदै १ हजार ३ सय ९८ जना किसानले लिएको ऋण चुक्ता गरेर आफूले जिम्मेवारी उठाएको बताएका छन् । उनले आफूलाई एउटा काम पूरा गरेको महशुस भइरहेको बताए ।

उत्तर प्रदेशका अमिताभले सोहि स्थानका किसानको सहयोग गरेका हुन् । पछिल्लो समय भारतमा किसानको ठूलो जमात ऋणको समस्यामा परेको छ । अमिताभले एक सरकारी बैंकबाट किसानले लिएको ऋण चुक्ता गरेका हुन् । उनले ब्लगमार्फत जानकारी दिएअनुसार यो रकम बैंक अफ इन्डियासँग संझौता गरेर एकमुस्ट चुक्ता गरिएको हो । बैंकले अब कुनै तिर्नुपर्ने रकम नरहेको प्रमाणपत्र जारी गर्दैछ ।

सबै किसानलाई मुम्बई आउन समस्या भएपछि अमिताभ आफैले किसानका लागि ट्रेनको एक डिब्बा समेत रिजर्व गरेका छन् । यी किसान यही २६ नोभेम्बरमा अमिताभसँग आफ्नो बैंक डकुमेन्ट लिन मुम्बई आउनेछन् । यसैवर्ष अमिताभले महाराष्ट्रका ३५० किसानको ऋण चुक्ता गरेका थिए ।

सन् २००७ मा अमिताभ जमिनको एक सम्झौताका कारण विवादमा आएका थिए । यो घटनामा अदालतले अमिताभले ९० हजार वर्ग फुट जमिन अवैध ढंगले आर्जित गरेको बताएको थियो । तर, अमिताभले जमिनको दावी छोडेपछि उनीमाथि लगाइएको आरोप भने फिर्ता लिइएको छ ।