‘लभ स्टेसन’को इन्ड क्ल्याप केक दुईतिर किन काटियो ?

नायक प्रदीप खड्का र जसिता गुरुङ अभिनित फिल्म ‘लभ स्टेशन’को बुधबार बेलुका ललितपुरको गोदावरी रिसोर्टमा ‘इन्ड क्ल्याप’ गरिएको छ । तिहार अघि बाँकी रहेको तीन दिनको क्लाईमेक्स सकेर केक काट्दै फिल्म युनिटले इन्ड क्ल्याप गरेको हो । तर अनौठो लाग्दो कुरा के छ भने फिल्मका निर्माताले एक तिर र निर्देशकले अर्को तिर केक काटेका छन् ।

अधिकांश कलाकार र निर्माताको उपस्थितीमा इन्ड क्ल्याप केक काट्दै गर्दा फिल्मका निर्देशक उज्जल घिमिरे भने उपस्थित भएनन् । त्यस्तै निर्देशकले इन्ड क्ल्याप केक काटेको ठाउँमा निर्माता उपस्थित भएनन् । फिल्मको दुई वटा गीतको छायांकन बाँकी राखेर इन्ड क्ल्याप केक काट्ने कार्यक्रममा निर्देशक र निर्माता दुवैले फरक फरक गर्नुलाई अर्थपूर्ण हिसाबमा हेर्न सकिन्छ ।

हल्ला कै कुरा गर्ने हो भने फिल्मको छायांकन आधाउधी सकिँदा देखी फिल्मका निर्माता गोबिन्द शाही र निर्देशक उज्जल घिमिरेका बिच असमझदारी बढेको छ । सुनिए अनुसार फिल्मका कलाकार र निर्माता एक तिर देखिएका छन् भने निर्देशक अर्को तिर । इन्ड क्ल्याप केक काट्ने कार्यक्रममा दुईटा गरिनु र एक अर्काकोमा निर्माता निर्देशक अनुपस्थित हुनुले पनि उनीहरु बिच दुरी बढेको अनुमान लगाउन गाह्रो पर्दैन ।

अर्को तिर फिल्मका निर्देशक उज्जल घिमिरेले मेरोफिल्मसंग कुरा गर्दै उक्त्त केक काट्ने कार्यक्रम फिल्मको इन्ड क्ल्यापको नभएको बताए । ‘नायिका जसिताको सिन सकिएकाले जसिताकै अनुरोधमा हामीले केक काटेका हौँ त्यो इन्ड क्ल्यापको केक काटेको होइन’ निर्देशक घिमिरेले भने । तर निर्माता गोबिन्द शाहीले भने उक्त केक काट्ने कार्यक्रम फिल्मको इन्ड क्ल्याप कै भएको बताएका छन् । यहाँ नेर पनि निर्माता र निर्देशक बिचको कुरा बाझिएको छ । दुबैले आफुहरु ब्यस्त रहेकाले एक अर्काको केक काट्ने कार्यक्रममा जान नपाएको बताएका छन् । फिल्म निर्माण एक टिमवर्क हो तर यस किसिमको निर्माता निर्देशक दुरीले फिल्मलाई नकारात्मक असर पर्ने सम्भावनालाई नकार्न सकिन्न ।

फिल्म ‘लभ स्टेसन’मा प्रदीप खड्का, जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतको मुख्य भूमिका रहेको छ । फिल्म काफिया फिल्म्सको व्यानरमा काफिया शाही (क्रिसु) र कविर बिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको फिल्ममा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको छ ।