गोविन्दको जोसँग फिल्म, उहीसँग सम्बन्ध चिलिम

गोविन्द शाही पहिला हिरो हुन् । पछि निर्माता भए । अहिले वितरक पनि निर्माता पनि । हिरो हुने त उनले आँट अब गर्दैनन् होला । वितरक भएपछि गोविन्दको हातमा राम्रा फिल्म परे । उनी चलेको वितरक बने । यसपछि भने उनी विवादमा मुछिन थाले ।

वितरक गोपाल कायस्थ र उनको लफडाको घटना त अझै सेलाएको छैन । आफूले वितरण गरेको फिल्म सबै हिट अरुको चलेन भन्ने त उनको पुरानो बानी नै हो । तर, उनको अर्को पनि बानी देखिन थालेको छ । उनी जुन निर्देशकसँग काम गर्छन्, लामो समय टिक्नै सक्दैनन् । निर्देशक मिलन चाम्ससँग मिलेर उनले बनाएको लिलिबिली फिल्म रिलिज हुँदासम्म उनी र मिलनविच पानी बाराबार नै भयो ।

यो फिल्मका अर्का निर्माता सुदिप खड्कासँग पनि उनको सम्बन्ध विग्रियो । सुदिप र मिलन एकातिर लागे, गोविन्द अर्कोतिर । यसपछि निर्देशक उज्ज्वल घिमिरेलाई लिएर उनले लभ स्टेशन बनाइरहेका छन् । यो फिल्मको त छायांकन नै सकिएको छैन । फिल्मको छायांकन नसकिदै उनी र निर्देशकविच लफडा सुरु भैसक्यो । फिल्मको छायांकन सकिएको खुशियाली उनीहरुले एकसाथ साट्न सकेनन् । २ तिर केक काटे ।

गोविन्दको सम्बन्ध जोसँग काम गर्यो उहीसँग किन विग्रन्छ, एकपटक गोविन्दले आफूलाई पनि मुल्यांकन गर्ने बेला आए जस्तो छ ।