धनमाया दिसुवा बनिन् पाल्पा लोक आइडल

शनिबार साँझ सम्पन्न कार्यक्रममा तानसेनको श्रीनगर सामुदायिक टेलिभिजनद्वारा सञ्चालित ‘पाल्पा लोक आइडल’ मा धनमाया दिसुवा विजयी भएकी छन् । उनलाई नगद रु एक लाख र प्रमाणपत्रद्वारा सम्मानित गरियो । प्रतियोगिताको फस्ट रनरअप कमल नेपाली र सेकेण्ड रनर अपका रुपमा ओमप्रकाश सिञ्जाली बन्न सफल भएका छन् ।

‘पाल्पा लोक आइडल’मा बगनासकालिका नैना परियार, रम्भा गाउँपालिकाका ओमप्रकाश सिञ्जाली र कमल नेपाली, रामपुरका दिलीप मानन्धर र निस्दी गाउँपालिकाकी धनमाया दिसुवा उत्कृष्ट पाँचमा प्रतिपस्र्धा भएको थियो । जिल्लाको दशवटै स्थानीय तहमा सञ्चालन भएको अडिसनबाट १३८ प्रतिस्पर्धी छनौट हुँदै पाँच जनाबीच अन्तिम राउण्डमा प्रतिपस्र्धा भएको थियो ।

कार्यक्रममा राजनीतिक वार्ताटोलीका संयोजक सोमप्रसाद पाण्डेले स्थानीय कला, लोकसंस्कृतिको जगेर्नाका लागि सबैले चासो दिनुपर्ने बताए । पश्चिमी संस्कृतिका कारण नेपाली संस्कृति हराउँदै गएकाले नेपाली लोकसंस्कृतिको संरक्षण आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा ५ नं प्रदेशका सांसद डा पुरन बज्रचार्य, वीरबहादुर राना, नेकपाका खिमान्द्र पाण्डेय, नेपाली काङ्ग्रेस पाल्पाका सचिव अजयमान कर्माचार्य, रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसी, तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती र पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर सारु, पाल्पाका प्रजिअ मनोहरप्रसाद खनालले हराउँदै गएको लोकसंस्कृति संरक्षणका लागि लोक आइडल प्रतियोगिता आवश्यक रहेको विचार व्यक्त गरे ।