इशक डेब्यु फिल्म ‘आरुसी’ बनाउदै निर्देशक सुब्बा

फिल्म ‘आरुसी’ निर्माण हुने भएको छ । गणपति फिल्मस्का लागि उदय सुब्बाको निर्देशनमा निर्माण हुन लागेको यो फिल्म यहि मंसिर १५ गतेबाट फ्लोरमा जादैछ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा इशक राईले डेव्यु गर्दैछन् । साहारा प्रधान, बिरु गुरुङ र केशव कुमार श्रेष्ठको संयुक्त लगानीमा यो फिल्म निर्माण हुने छ । फिल्मको सम्पूर्ण छायांकन ४० दिनमा सक्ने गरी टिम फ्लोरमा जान लागेको निर्देशक उदय सुब्बाले जानकारी दिए । यो फिल्म झापा, इलाम, तेह्रथुम, ताप्लेजुङ, सङ्खुवासभा लगायतका स्थानमा छायांकन गरिनेछ ।

निर्देशक सुब्बाले कलाकारको विषयमा अगाडि थप्दै भने, ‘अहिले फिल्म मार्केटमा पुराना कलाकारको विकल्पको रुपमा नयाँ कलाकार देखिएका छन् । नयाँ कलाकार राखेपछि केही नयाँपन उनीहरुले दिन सक्छन् । यो समयको माग हो । जसरी अनमोल केसी, प्रदीप खड्का र पल शाह जस्ता नयाँ कलाकारले अहिले मार्केट लिएका छन् त्यसरी नै आरुसीमा पनि अब्बल क्षमता भएका नयाँ कलाकारले स्थान पाउनेछन् ।’

फिल्ममा इशक राई, रमा लिम्बु, सुनिल थापा, सुरविर पण्डित, कला राई, दमन रुपाखेती, बिरु गुरुङ, भूपेन्द्र लिङ्देन लगायतका कलाकारको अभिनय रहनेछ । मौनता श्रेष्ठको पटकथा तथा संवाद रहने यस फिल्मलाई विक्रम डिसीले खिच्नेछन् । बिरु गुरुङको कथा, तारा थापा किम्भेको सम्पादन, राजु किरातीको द्धन्द तथा विकास चौधरी र तारा प्रकाश लिम्बुको संगीत फिल्ममा रहनेछ । कमल राई र दिनेश पाख्रिनको नृत्य निर्देशन रहने यस फिल्मको गीतमा राजेश पायल राई, दिपक लिम्बु, सुशन लिम्बु र सुम्निमा इङ्नामको स्वर सुन्न सकिन्छ । फिल्मको तीन वटा गीत रेकर्ड गरिसकिएको छ । आगामी नयाँ वर्ष अर्थात २०७६ सालको वैशाख १ मा ‘आरुसी’ प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।