फिनल्याण्ड सहित युरोपका ११ देशमा ‘प्रसाद’

फिल्म ‘प्रसाद’को विदेशमा उच्च माग देखिएको छ । युरोप वितरणको अधिकार लिएका सुरज कार्की र मेला इभेण्ट प्लानरका अनुसार युरोपका ११ देशमा फिल्म प्रसादको प्रदर्शन कन्फर्म भइसकेको छ । उनका अनुसार ११ देशमा २० शो बुक भइसकेको र अन्य देशबाट पनि फिल्मको माग बढीरहेको छ । डेनमार्क, पोल्याण्ड, माल्टा, जर्मनी, फिनल्याण्ड, अष्ट्रीया, पोर्चुगल, बेल्जियम, नर्वेलगायतका देशमा प्रदर्शन कन्फर्म भएको प्रसादको पहिलो युरोप शो डिसेम्बर १४ मा फिनल्याण्डमा हुनेछ । माल्टा, फिनल्याण्ड, अष्ट्रीया र पोर्चुगलमा मेला इभेण्ट प्लानरले फिल्म वितरण गरेको हो ।
कार्कीका अनुसार विदेशी दर्शकहरु माझ निश्चल बस्नेतको अत्याधिक क्रेज हुनुका साथै गीतले दर्शकको अत्याधिक मन जितेका कारण युरोपमा प्रसादको माग उच्च भएको हो । त्यसो त यसअघि विपिन कार्की अभिनित फिल्म हेर्न विदेशीहरु पनि आएको भन्दै उनले विपिनको उपस्थितिलाई पनि अर्थपूर्ण मानेका छन् । फिल्म युरोपियन देशका फिल्म चल्ने मल्टिप्लेक्स हलहरुमा नै प्रदर्शन गरिनेछ र दोस्रो चरणमा रेष्टुरेण्टमा फिल्म देखाउने उनको लक्ष्य छ ।

यता अष्ट्रेलियामा सोही दिन फिल्म प्रदर्शनको तयारी भएको छ । अष्ट्रेलिया प्रदर्शनको अधिकार लिएको गोर्खे इन्टरटेनमेण्टका नविन मानन्धरका अनुसार ७, ८, ९ र १० डिसेम्बरमा फिल्म प्रसाद अष्ट्रेलियामा प्रदर्शन हुनेछ । यता युके, जापान नर्वे र हङकङलगायतका देशमा पनि फिल्म प्रसादको माग उच्च देखिएको सम्वन्धित देशका वितरकहरुले जनाएका छन् ।

मंसिर २१ गतेबाट प्रदर्शन हुने फिल्ममा विपिन कार्की, निश्चल बस्नेत, नम्रता श्रेष्ठ, बसुन्धरा भुषाललगायतका कलाकारको अभिनय रहेको छ । सुभाष थापा प्रोडक्सनको व्यानरमा सुभाष थापाले निर्माण गरेको फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् । फिल्ममा राजेश श्रेष्ठको छायाँकन, लोकेश बज्राचार्यको सम्पादन, हिमाल केसीको द्वन्द्व र सुशिल पौडेलको लेखन रहेको छ । विकास सुबेदी फिल्मका एसोसिएट निर्देशक हुन् ।