‘चौथो कामना फिल्म अवार्ड’ सम्पन्न (फोटो सहित)

ललितपुरमा सनिबार ‘चौथो कामना फिल्म अवार्ड’ सम्पन्न भएको छ । नेपाली फिल्मी क्षेत्रका कलाकार, पत्रकार,  प्राविधिकहरुका माझ नायक अनमोल केसी र नायिका वेनिशा हमालले उत्कृष्ट नायक–नायिकाको अवार्ड प्राप्त गरे ।

कार्यक्रममा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘लाइभ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरियो । यस्तै, संगीतकार शम्भुजित बास्कोटालाई समेत विशेष सम्मान प्रदान गरिएको थियो ।

अवार्ड कार्यक्रममा ‘लिलिबिली’ उत्कृष्ट फिल्म बन्न सफल भयो भने यही फिल्मबाट मिलन चाम्सले ‘उत्कृष्ट निर्देशक’ को अवार्ड जितेका छन् । दिपेन्द्र लामाले ‘घामपानी’ फिल्मबाट ‘उत्कृष्ट नवनिर्देशक र उत्कृष्ट कथाको अवार्ड जिते । कुशाग्र भट्टराइले फिल्म ‘पिजडा ब्याक अगेन’बाट उत्कृष्ट बालकलाकारको अवार्ड जिते भने रमेश रञ्जन झा फिल्म ‘संरक्षण’बाट उत्कृष्ठ खलनायक बन्न सफल भए । नायिका प्रियंका कार्कीलाई ‘स्टार अफ दि इयर’ अवार्ड, ‘स्पेशल मेन्सन अवार्ड’ फिल्म शेरबहादुरबाट सुनिल थापालाई र फिल्म भुइँमान्छेबाट रमेश वुढाथोकीलाई प्रदान गरियो । त्यस्तै जुरी अवार्ड फिल्म ‘भूँइमान्छे’ले प्राप्त गर्न सफल भयो ।

फिल्म ‘म यस्तो गीत गाउँछु’बाट राजाराम पौडेलले ‘उत्कृष्ट हाँस्य कलाकार’को अवार्ड प्राप्त गरे भने हरिवंश आचार्य र प्रदिप भट्टराइले फिल्म ‘शत्रु गते’बाट ‘उत्कृष्ट संवाद’को अवार्ड आफ्नो पोल्टोमा पारे । दिपकराज गिरी र प्रदिप भट्टराइले ‘शत्रु गते’ फिल्मबाट नै ‘उत्कृष्ट पटकथा’को अवार्ड जित्दै गर्दा कविराज गहतराजले फिल्म ‘२ रुपैयाँ’को ‘कुटुमा कुटु’ गीतबाट ‘उत्कृष्ट कोरियोग्राफर’को अवार्ड जितेका छन् ।

‘क्रिटिक्स अवार्ड’ संगीतकार कालिप्रसाद बाँस्कोटालाई, ‘क्रिटिक्स फेसन अवार्ड’ अनु श्रेष्ठ र ‘क्रिटिक्स थिएटर अवार्ड’ विरेन्द्र हमाललाई प्रदान गरियो । फिल्म ‘ऐश्वर्य’को ‘तिमी रोएको पल’ गीतबाट अर्जुन पोखरेलले अवार्ड जिते भने, धिरेन्द्र प्रेमर्षी फिल्म ‘संरक्षण’को ‘संझनाको सारङ्गी’ गीतबाट उत्कृष्ट गीतकार बन्न सफल भए । सुगम पोखरेलले फिल्म ‘ऐश्वर्य’कै ‘तिमी रोएको पल’ गीतबाट उत्कृष्ट पाश्र्व गायनको अवार्ड जित्दा बाणिका प्रधानले फिल्म ‘ब्लाइन्ड रक्स’को ‘उड्यो मन’ गीतबाट उत्कृष्ट पाश्र्व गायिकाको अवार्ड जितिन् ।

एलिस कार्कीले फिल्म ‘लिलिबिली’बाट उत्कृष्ट ‘ब्याक ग्राउण्ड स्कोर’, हिमाल केसीले फिल्म ‘पिजडा ब्याक अगेन’बाट ‘उत्कृष्ट द्धन्द्ध निर्देशक’, सुरेन्द्र पौडेलले फिल्म ‘कृ’बाट ‘उत्कृष्ट सम्पादक’, पुरुषोत्तम प्रधानले फिल्म ‘कृ’बाट नै ‘उत्कृष्ट छायांकार’, मुकेश शाहले फिल्म ‘लिलिबिली’बाट ‘उत्कृष्ट साउण्ड डिजाइन’ र शंकर थापाले फिल्म ‘घामपानी’बाट ‘उत्कृष्ट मेकअप’को अवार्ड जितेका छन् ।

करिव चार घण्टा चलेको कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ ।