हिस्स सलिनमान

अभिनेता सलिनमान बनियाँ फिल्म ए मेरो हजुर २ बाट उदाएका हुन् । सलिनमान बनियाँलाई दर्शकले पनि रुचाउँछन् । उनको कपाल र पहिरनको त कुरै नगर्नुहोस् । उनी आफ्नो यही स्टाइलका कारण सधै हिट छन् ।

सलिनमान हत्तपत्त बाहिर निस्कदैनन् । सलिनमान बाहिर निस्किहाले भने त्यसलाई त अनौठो मान्दा हुन्छ ।

तर, सलिनमान बनियाँ शनिबार आयोजना भएको कामना फिल्म अवार्डमा पुगे । सलिनमानको स्टाइल इन्ट्रीमा सबैलाई मोहनी त लाग्यो ।

सलिनमा यो अवार्डमा सर्वोत्कृष्ट नव अभिनेताको विधामा नोमिनेशनमा परेका थिए । नव अभिनेताको नोमिनेशनमा पुगेर अवार्डमा पुग्ने सलिनमान बनियाँ एक मात्र थिए । सलिनमान त्यहाँ पुगेपछि उनले अवार्ड पाउँछन् भन्ने चर्चा त भयो । सलिनमान पनि अवार्ड पाउने आशमा त्यहाँ पुगेको हुनुपर्छ । किनभने, सलिनमान बनियाँलाई सार्वजनिक कार्यक्रममा ल्याउन गाह्रो छ । उनको मुड अनुसार अरु मानिस चल्नुपर्छ ।

तर, यसपटक भने सलिनमान खै कसरी अवार्डमा पुग्न तयार भए । तर, नव अभिनेताको अवार्ड अभिनेता आशिरमान देशराज जोशीले पाए । ग्याङस्टार ब्लूजबाट आशिरमानले अवार्ड जित्दा सबैले सलिनमानलाई किन नदिएको भन्दै मुखामुख गरेका थिए । बल्ल बल्ल अवार्ड कार्यक्रममा पुगेका सलिनमान हिस्स पर्न बाहेक अरु के उपाय थियो र ?