मेलिना राईको ‘तिम्ले बाटो फेर्यौ अरे २’ सार्वजनिक

चर्चित गायिका मेलिना राईको स्वरमा रहेको ‘तिम्ले बाटो फेर्यौ अरे’ उनको साङ्गितिक करियर कै हिट गीत मानिन्छ । यसै गीतबाट मेलिनाको लोकप्रियता निकै चुलिएको थियो । ‘तिम्ले बाटो फेर्यौ अरे’को सफलतासँगै ‘तिम्ले बाटो फेर्यौ अरे २’ सार्वजनिक भएको छ । यस गीतमा पनि मेलिना राईले स्वर दिएकी छिन् । दर्पण राईको शब्द समावेश यस गीतमा विक्रम राईको संगीत रहेको छ ।

‘तिम्ले बाटो फेर्यौ अरे २’लाई लिएर गायिका मेलिना निकै उत्साहित छिन् । ‘मलाई यो स्थानमा पुग्न तिम्ले बाटो फेर्यौ अरे ले निकै सहयोग पुर्याएको छ । त्यसको दोस्रो भाग रिलिज भएको छ । यसले पनि मेरो करियरमा थप सहयोग गर्नेमा म विश्वस्त छु’, उनले भनिन् ।

त्यस्तै, गीतकार दर्पण राई पनि यस गीतलाई लिएर निकै आशावादी छन् । उनी भन्छन्, ‘पहिलो भागमा भन्दा दोस्रो भागमा धेरै मेहनत गरेका छौं । गीत मेकिङको हिसाबमा हामी कतै चुकेका छैनौं । त्यसैले यस गीतलाई लिएर निकै आशावादी छु ।’ पहिलो भाग निकै सफल भएका कारण यो पनि सफल हुने उनको विश्वास छ ।

शान थापाको निर्देशनमा तयार भएको ‘तिम्ले बाटो फेर्यौ अरे २’को भिडियोमा मेलिना राई आफैँ फिचर्ड छिन् । अनिल के मानन्धरले खिचेको भिडियोमा राजिव समरको कोरियोग्राफी तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।