‘गाजलु’ जोडी अनमोल र शृष्टी नयाँ फिल्ममा !

फिल्म ‘गाजलु’मा एकसाथ काम गरेका अभिनेता अनमोल केसी र अभिनेत्री शृष्टी श्रेष्ठ नाम नखुलेको एक नयाँ फिल्ममा संगै काम गर्न लागेको खबर बाहिरिएको छ । फिल्ममा निर्देशक, निर्माता सबै नयाँ रहने र फिल्मको औपचारिक घोषणा मङ्सिर महिना भित्रै हुने जानकारी मेरोफिल्मलाई प्राप्त भएको छ । फिल्म प्रेम कथामा बन्नेछ । अनमोल र शृष्टीको जोडीलाई दर्शकले गाजलुमा निकै रुचाएका थिए । अब उनीहरुलाई लिएर निर्माण हुन लागेको नयाँ फिल्म कस्तो बन्ने छ त्यो भने भविष्यमा थाहा होला ।

फिल्मको अन्य जानकारी नबाहिरिए पनि अनमोल र शृष्टी उक्त फिल्मका लागि फाइनल भइसकेको बुझिएको छ । अनमोल हाल फिल्म ‘ए मेरो हजुर ३’को सुटिङमा छन् भने उनको होम प्रोडक्सनमा बनेको फिल्म ‘क्याप्टेन’ फागुन १७ गते देखि प्रदर्शनमा आउँदैछ । उनी मिलन चाम्सको निर्देशन रहने फिल्म ‘ब्याचलर बण्टी’मा पनि अनुबन्ध भइसकेका छन् । पछिल्लो समय अनमोलले भकाभक फिल्महरु साइन गरिरहेका छन् । तर, उनकै कारण विभिन्न फिल्मको सुटिङ सेड्युल बिग्रिदै आएको छ । अब उनले ‘ए मेरो हजुर ३’ पछी ‘ब्याचलर बण्टी’लाई समय दिन्छन् या नयाँ फिल्मलाई  त्यो भने सोचनीय विषय बनेको छ ।