‘द भ्वाइस अफ नेपाल’ फिनालेमा ‘धुर्मुस-सुन्तली’

डिसेम्बर १४ मा हुने ‘द भ्वाइस अफ नेपाल’ को फिनाले कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ । दोहा स्थित एसियन टाउन ग्राण्ड मल सनैयामा हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको आयोजक प्रविन गुरुङले बताएका छन् । फिनालेमा ७९ देशका एनआरएन प्रतिनिधीको समेत उपस्थिति रहने छ । यसका साथै नेपालबाट कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ समेत सहभागी हुनेछन् ।

कार्यक्रममा नेपालबाट आउने कलाकार लगायत सम्पुर्ण अतिथीहरुको लागि बस्ने खानेका साथै सुरक्षा सम्बन्धी सम्पूर्ण तयारी पुरा भएको हो । त्यसैगरी उक्त दिन हुनसक्ने भिड र असुरक्षाको अनुमान गर्दै टिकट काउण्टर र सुरक्षा व्यवस्थाको समेत सम्पूर्ण तयारी सकिएको छ  ।

आयोजकले कार्यक्रममा आउनेहरुलाई नेपाली खानेकुराको परिकार सहित ठाँउ ठाँउमा फुट स्टल समेतको ब्यवस्था गरेको जनाएको छ । कार्यक्रम हुने हल मै गोरखाली रेष्टुरेण्टले नेपाली परिकार पाउने गरी स्टल राखेको छ भने बाँकीले राख्ने तयारी गरेको आयोजकले बताएका छन् ।

बिगतका कमीकमजोरीलाई केलाएर कार्यक्रमको सम्पुर्ण तयारी गरिएको भन्दै यस पटकको कार्यक्रम भब्य हुने आयोजकले बताएका छन् । ‘हामीले बिगतको कार्यक्रमबाट पाठ सिकेका छौं, के गर्दा राम्रो हुन्छ भन्नेबारेमा सम्पुर्ण जानकारी छ, त्यही अनुसार कार्यक्रमको तयारी गरेका छौं ।’ आयोजक गुरुङले भने ‘कार्यक्रममा मुख्य कुरा सुरक्षाको हो, हामीले पहिला भन्दा यो पटक सुरक्षामा दोब्बर खटाउने छौं, अनि कार्यक्रम हल बाहिर पनि सुरक्षा गार्ड परिचालन गर्ने छौं ।’