सुश्री सम्पति सहित हलमा चार फिल्म

आज मङ्सिर २८ गते शुक्रबार चार नेपाली फिल्म रिलिज भएका छन् सुश्री सम्पति, कथा ७२, डोली र गोल गरी चार फिल्म हलमा एकैपटक लागेका हुन् ।

शुब्रत राज आचार्य निर्देशित फिल्म ‘सुश्री सम्पति’ मा सलोन बस्नेत, सारा शिर्पाइली र बिनोद न्यौपानेको मुख्य भूमिका रहेको छ । कमेडी जनरामा निर्माण भएको  फिल्ममा सलोन, सारा र बिनोदका अलावा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा नायिका प्रियंका कार्की अतिथि भूमिकामा देखिएकी छिन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक शुब्रत आचार्य आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ ।

फिल्म ‘कथा ७२’ मा आकाश मगर,सुप्रिया राना,भुइसल लामा,पल्मो सन्जु तामांङ,केदार श्रेष्ठ,शारदा अधिकारीको अभिनय रहेको छ । वि.सं २०७२ सालको महाभूकम्पले मानवीय सम्बन्ध र संवेदनामा पारेको प्रभावमाथि बनेको फिल्म ‘कथा ७२’ लाई प्रवीण स्याङ्बोले लेखन, निर्देशन गरेका हुन् । लोकल सिनेमा प्रा.लिको निर्माण तथा आइसफल प्रोडक्सन र दक्षिण अफ्रिकी कम्पनी बिफ्याट मोटेलको सहकार्यमा निर्माण भएको यस फिल्मलाई ‘सन डान्स् अन्तर्राष्ट्रिय अर्वाड’ विजेता चिन्तन राजभण्डारीले खिचेका हुन् ।

किरण नेपालीको निर्माण रहेको फिल्म ‘डोली’ मा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, अर्जुन गुरुङ, सानीया खान, संगीता नापीत, नवीन रेग्मी, प्रशान्त भण्डारी, प्रिया रिजाल, सतिश खत्री, दामोदर खतिवडा, हिउवाला गौतम लगायतका कलाकारहरुको अभिनय रहेको छ । जयराम थापाको छायांकन रहेको फिल्म तारा थापा किम्भेले सम्पादन गरेका हुन् । रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको डोलीले मनोरञ्जनका साथै समाजोपयोगी सन्देश समेत प्रभावह गर्ने दावी निर्देशक सानेले गरेका छन् । राजबहादुर सानेको लेखन तथा निर्देशनमा फिल्म तयार भएको छ ।

अविरल भट्टराईको निर्माण रहेको फिल्म ‘गोल’ मा भिम लामाको निर्देशन तथा कथा रहेको छ । फिल्ममा किशोर खतिवडा, सबिना कार्की, सुरबीर पण्डित, दमन रुपाखेती, आई पी भट्टराई, प्रकाश सुब्बा, प्रकाश कोइराला, राज कुमार डी सी, स्मारिका खनाल दिवश पोखरेललगायातका कलाकारको अभिनय रहेको छ । प्रकाश सुब्बाको छायांकन, राजु शाहको कोरियोग्राफी,सुबाश देवकोटाको सम्पादन तथा श्री कृष्ण श्रेष्ठको भिएफएक्स फिल्ममा रहेको छ ।