एक दृश्यको ‘बुलबुल’ टिजर

फिल्म बुलबुलको टिजर सार्वजनिक भएको छ । ४५ दिन अघि बाटोमा नायक नायिकालाई नचाएर बेग्लै तरिकाले गीत सार्वजनिक गरेको बुलबुलको टिजर पनि अनौठो स्वादमा आएको छ ।

फिल्मको एक दृश्यजस्तो लाग्ने टिजरमा यसअघि चुलबुले भुमिकामा देखिदै आएकी नायिका स्वस्तिमा खड्काको हुलिया दुरुस्तै आम टेम्पो चालिका युवतीको जस्तै देखिएको छ । साथै नवनायक मुकुन भुषालको अभिनय पनि स्वाभाविक र दमदार देखिएको छ । टिजर मार्फत चरित्र चित्रण र फिल्मको स्वाद कस्तो छ भनेर छनक दिन खोजेको देखिन्छ । छोटो दृश्यमै दुवै कलाकारले फरक फरक भाव र फरक रसमा सरल तर प्राकृतिक तवरले आफनो अभिनय कौशल देखाउन सफल भएका छन् । टिजर हेर्दा फिल्ममा केही न केही खँदिलो र पृथक कुरा छ भन्ने अनुमान गर्न सकिन्छ ।

बिनोद पौडेल निर्देशित फिल्ममा स्वस्तिमा खड्का, बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, आशिका पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको फिल्मलाई विनोद पौडेलले लेखेका हुन् । फिल्ममा कोशिश क्षेत्री र उद्गम परियारको संगीतमा रजिना रिमाल र निश्चल बस्नेतको स्वर सुन्न सकिन्छ । फिल्मलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल संयुक्त रुपमा निर्माण गरेका हुन् ।