चर्चामा फागुन १७ र चैत्र २९, सहज छैन अनमोललाई

यो बर्ष अनमोल केसी अभिनित २ फिल्म १ महिनाको अन्तरमा प्रदर्शनमा आउँदै छन् । उनको होम प्रोडक्सनको फिल्म ‘क्याप्टेन’ फागुन १७मा प्रदर्शन हुँदैछ भने झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ३’ चैत्र २९ गते देखी प्रदर्शन हुनेछ । तर यी दुवै मितीमा अन्य २ फिल्म प्रदर्शनमा आउनेछन् । फागुन १७ मा फिल्म ‘द ब्रेकअप’ प्रदर्शन हुँदैछ भने चैत्र २९मा फिल्म ‘यात्रा’ ।

हाल सम्म अनमोल अभिनित ६ फिल्म प्रदर्शनमा आइसकेका छन् । प्रत्येक पटक उनी फरक फरक नायिकासंग रोमान्स गर्दै आएका छन् । यो क्रम फिल्म क्याप्टेन र ए मेरो हजुर ३ मा समेत दोहोरिएको छ । तर वर्षमा एक पटक मात्रै ठुलो पर्दामा आउने केसीका दुई फिल्म करिब एक महिनाको अन्तरमा प्रदर्शन हुँदैछन् । यसअघि सोलो फिल्म रिलिज गर्दै आएका अनमोल र उनलाई लिएर फिल्म निर्माण गर्ने टिमले यस पटक भने त्यस्तो सजिलो अवस्था पाएका छैनन् । यस पटक अनमोल आफैले पनि नयाँ नायिका बाहेक न त दुई फिल्म रिलिजको समय टाढा पाए न त एक्लै हलमा छाउने अवसर नै पाउने छन् ।

फिल्म रिलिजमा मात्रै हैन उनको फिल्मको गीत सार्वजनिक हुँदा समेत उनी एक्लै आउन पाएनन् । प्रदीप खड्का अभिनित फिल्म लिलिबिली, भाइरल बोइ अशोक दर्जीको गीत ‘चौरीको चाम्रो छुर्पी’ फिल्म क्याप्टेनको गीत ‘रहर छ संगै’ एक साथ युटुवमा सार्वजनिक गरिएको थियो । प्रदीप खड्का र अनमोललाई प्रतिष्पर्धी नायकको रुपमा लिने गरिन्छ ।

फागुन १७
फागुन १७मा यस अघि दिवाकर भट्टराई निर्देशित फिल्म ‘क्याप्टेन’ र ‘जात्रै जात्रा’ प्रदर्शनमा आउने तय भएको थियो । तर, उक्त फिल्मका नायक विपिन कार्की मोटरसाइकल दुर्घटनामा परेपछि हाल फिल्मको छायांकन रोकिएको छ । फिल्मको छायांकन रोकिएपछि उक्त मितीमा फिल्म प्रदर्शन गर्न नसकिने भन्दै निर्देशक प्रदिप भट्टराईले फिल्मको नयाँ रिलिज डेट छिट्टै सार्वजनिक गर्ने जानकारी मिडियालाई गराएका थिए । उक्त समयमा नै फिल्म द ब्रेकअप निर्देशक हेम राज बिसीले आफ्नो फिल्मको भिएफएक्सको काम पुरा नहुने भन्दै रिलिज डेट पछि सार्दै फागुन १७ लक गरे । त्यसो त यो डेट फाइनल गर्नुमा फिल्मको काम बाँकी रहनु मात्र कारण नरहेको चर्चा फिल्म वृत्तमा हुन थालेको छ । हेमराज बिसीले नै फिल्म होस्टल मार्फत अनमोल केसीलाई नेपाली फिल्मी जगतमा डेब्यु गराएका थिए । अनमोललाई बिसीले द ब्रेकअपमा अभिनय गर्नका लागि प्रस्ताव राखेका थिए जुन अनमोलले स्वीकार गरेनन्  भन्ने हल्ला समेत चलेको थियो । अनमोलले फिल्म खेल्न इन्कार गरेको रिस साँध्न पनि उनले फिल्म जुधाएका हुन् भन्नेहरुको कमि छैन फिल्म वृत्तमा । खास कारण के हो त्यो उनीहरुलाई नै थाहा होला तर सतहमा यही देखिएको छ ।

चैत्र २९
चैत्र २९ अर्को चर्चामा रहेको डेट हो । यो मितीमा पनि अनमोल केसीको मुख्य भूमिका रहेको सुनिल कुमार थापाको निर्माणमा झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ३’ रिलिज हुने फिल्म छायांकनमा जानु अगाडि नै तय गरिएको थियो । तर पछि आएर झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर २’ मार्फत फिल्ममा डेब्यु गरेका नायक सलिन मान बनियाको मुख्य भूमिका रहेको फिल्म ‘यात्रा’ले रिलिज डेट चैत्र २९ नै फाइनल गर्यो ।  सम्राट शाक्य निर्देशित उक्त फिल्ममा ए मेरो हजुर ३मा समेत मुख्य भूमिकामा रहेका नायक सलोन बस्नेत पनि छन् । सलोनको २ फिल्म एकै दिन प्रदर्शनमा आउनेछन् । झरनाले ए मेरो हजुर ३ बाट आफ्नी छोरी सुहाना थापालाई फिल्ममा डेब्यु गराउँदै छिन्। ए मेरो हजुर ३ म्युजिकल लभ स्टोरी फिल्म हो भने यात्रा जर्नी लभ स्टोरी फिल्म हो । यो डेटमा अनमोल सलिनसंग त भिड्दै छन् नै सलोनले आफैँसंग प्रतिष्पर्धा गर्नेछन् ।

यसअर्थमा फागुन १७मा अनमोल केसी भर्सेस हेमराज बिसी र आशिरमान देशराज जोशी र चैत्र २९ मा अनमोल केसी र झरना थापा भर्सेस सलिन मान बनिया बिचको भिडन्त फिल्म हलमा देख्न पाइनेछ । यो भिडन्तमा बाजी कसले मार्छ भन्ने मुख्य चासो को विषय बनेको त छ नै अर्को तर्फ सोलो रिलिज पाउँदै आएका अनमोललाई फागुन १७ र चैत्र २९मा सहज पक्कै छैन ।