५१ रुपैयाँमा म्युजिक भिडियो, नीता र निराजन बने राजा रानी

५१ रुपैयाँ लगानीमा म्युजिक भिडियो निर्माण भयो भन्दा अचम्म लाग्न सक्छ । तर, केही दिन अगाडि मध्यराती नक्साल बाल मन्दिरमा एक भिडियो निर्माण हुँदै थियो जुन साँचै ५१ रुपैयाँ प्रतिब्यक्ती पारिश्रमिक लिएर छायाङ्कन भइरहेको थियो ।

पत्रकार दीपेन्द्र घिमिरेको शब्दमा पछिल्लो समय भारतीय सांगीतिक प्रतियोगिता ‘सारेगमप’मा टप ११ सम्म पुगेकी गायिका मेनुका पौडेलको स्वरमा सजिएको गीत ‘रङ्ग भित्रको उजाड जिन्दगी‘बोल गीतको भिडियो छायाङ्कन गरिएको हो । मेनुका नेपाल आइडलको पहिलो सिजनको समेत टप ११मा पुगेर बाहिरिइएकी थिइन् । गीतमा एसडी योगीको संगीत रहेको छ भने रिकेश गुरुङले संगीत संयोजन गरेका हुन् ।

गीतको भिडियोमा चर्चित नायिका निता ढुंगाना र अभिनेता निराजन प्रधानको अभिनय समेटिएको छ । अनिल के मानन्धरको छायाङ्कन, शान थापाको निर्देशन रहेको भिडियोमा सुप्रिम पराजुलिको सम्पादन रहनेछ । भिडियोमा संलग्न सबैले जम्मा रु ५१ रुपैयाँ पारिश्रमिक लिएका छन् । आखिर ५१ रुपैयाँ मात्र किन त भन्ने प्रश्नमा सबैको एकै जवाफ थियो, ‘कुनै काम पैसाका लागि गरिन्छ त कुनै आत्मसंतुष्टिका लागी । तर, यो गीत राम्रो मात्र बनेको छैन यो गीतसँग हाम्रो मन जोडीएको छ । केही कज लिएर निर्माण भएको यो गीतको हिस्सा हुन पाउनु हाम्रो लागी राम्रो कुरा हो । पैसा नै सबै कुरा होइन ।’

भिडियो केही दिन भित्रै सार्वजनिक गरिने निर्देशक थापाले बताए ।