लगानी धेरै हुँदैमा फिल्म राम्रो बन्दैन – मित्र डि गुरुङ (सम्पादक, निर्माता)

राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्म ‘जय श्री दाम’को १५ मिनेट लामो रिभ्यु भिडियो सार्वजनिक गरिएको छ । रिभ्यु भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै फिल्मका सह-निर्माता मध्यका एक मित्र डि गुरुङले फिल्मको बजेट खुलाइदिए । उनले फिल्मका निर्देशक विप्लव उप्रेतीसँग अनुमती लिएर फिल्म ३०लाख भन्दा कमको बजेटमा बनेको खुलासा गरे ।

पछिल्लो समय नेपाली फिल्ममा लगानी बढीरहेको छ । प्रोडक्सन भ्यालु र फिल्मका कास्टले गर्दा फिल्मको लगानी करोड बढी हुन थालेका छन् । करोड लगानी पनि सामान्य बन्दै गएको अवस्थामा जय श्री दाम ३० लाख भन्दा कमको लागतमा बनेको यसको निर्माण पक्षले बताइरहेका छन् । उनीहरुले आफुहरुसँग आवश्यक बजेट, श्रोत र साधनको समेत कमी हुँदा हुँदै पनि फिल्मको कथालाई नमारेको बताए ।

आखिर ३० लाखमा बनेको फिल्मको गुणस्तरीयता कस्तो होला भन्ने धेरैको जिज्ञासा पनि होला । त्यही जिज्ञासालाई मेटाउँदै सह-निर्माता गुरुङले भने ‘फिल्ममा लगानी धेरै हुँदैमा राम्रो फिल्म बन्छ भन्ने हाम्रो बुझाई छैन ।’ लगानीले मात्रै फिल्मको गुणस्तरीयता र ब्यवसायिकता निर्धारणा नहुने उनको आशय थियो ।

उनले थपे, ‘हामीले ३० लाख लगानी गरेर ६० लाख कमाउने उदेश्यले फिल्म निर्माण गरेका पनि होइनौँ ।’ हुन त बलिउडमा पनि निकै कम बजेटमा बनेका फिल्मले पनि बक्सअफिसमा करोडौँको ब्यापार गरेको उदाहरण छ । अब जय श्री दामले दाम कत्तीको छाप्छ त्यसको लागि भने फिल्मको प्रदर्शन सम्म कुर्नै पर्ने हुन्छ ।

लभ स्टोरी जनरामा बनेको फिल्ममा राजन खतिवडा, विनोद न्यौपाने, प्रमोद अग्रहरी, अमृत ढुङ्गाना, जेविका कार्की लगायतको अभिनय रहेको छ । फिल्म पुष २० गते देखी प्रदर्शनमा आउने छ ।